शनिबार, बैशाख १५, २०८१

महोत्तरीमा पनि बस्तु मर्न थाले

बर्दिवास, १८ असार । पशु स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण पशु सेवा कार्यालयमा पशु उपचारका लागि पुग्ने गरेका किसानहरुले सेवा नपाएपछि किसानहरु चिन्तामा डुब्न थालेका छन् । अझ महोत्तरी जिल्लाका ग्रामीण बस्तीमा घरपालुवा बस्तुभाउ मर्न थालेपछि पशुपालक किसान चिन्तित भएका छन् ।

महोत्तरी जिल्लाको दक्षिणवर्ती र मध्यपूर्ववर्ती क्षेत्रमा भ्यागुते रोगबाट घरपालुवा पशुबस्तु मर्न थालेपछि पशुपालक किसानमा चिन्ता बढ्न थालेको हो ।
रोगले खासगरी दुहुना गाई, भैँसीलाई गाँजेको किसानको भनाइ छ । गर्धन सुनिने, ज्वरो आउने क्रमसँगै घ्यारघ्यार गरेर श्वास फेर्न अप्ठ्यारो भएको लक्षण देखिएको एक÷दुई दिनमै पशुबस्तु मर्ने गरेका स्थानीय किसानहरुको भनाई छ ।
फुलकाहा, सुन्दरपुर, सोनमा, पर्सादेवाड, खैरबनी र रघुनाथपुर गाविसमा रोगको समस्या देखिएको किसानले बताएका छन् । यी बस्तीमा पाँच वटा पशु मरिसकेका र १० वटा जति बिरामी रहेका सोनमाका किसान मदनकुमार साहको भनाइ छ ।
त्यसैगरी सघन पशुपालन हुने जिल्लाको मध्यपूर्ववर्ती धर्मपुर, बगडा, हरिहरपुरहरिनमरी र महदैयातपनपुरमा पनि यो लक्षणको रोगले तीन÷चार वटा दुहुना गाई, भैँसी मरेका छन् । आफ्नो बस्तीमा यो रोगले गाई, भैँसी र गोरुसहित १० भन्दा बढी बिरामी परेका हरिहरपुरहरिनमरी–७ का ७८ वर्षीय पशुपालक किसान जितन यादवले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७१