शुक्रबार, बैशाख १४, २०८१

उद्यमी किसान परिचय दिन नपाउँदै विवाद

काठमाडौं, १७ असार । नेपाल चेम्वर्स अफ कमर्शको आयोजना र जिल्ला कृषि विकास कार्यालय काठमाडौंको सह आयोजनामा आज सम्पन्न उद्यमी कृषक पहिचान पत्र वितरण कार्यक्रम सम्पन्न हुन नपाउँदै विवादमा आएको छ।
कृषि विकास मन्त्री हरिप्रसाद पराजुली प्रमुख अतिथिका रुपमा तीन घण्टा ढिलो गरी पुगेपनि उद्यमी किसान बन्न आतुर देखिएका किसानहरु भने लामो समयसम्म कुरेर बसेका थिए । करीव ५० जनालाई उद्यमी कृषकका रुपमा परिचय पत्र वितरण गरिएको भएपनि परिचयपत्रमा रातो, पहेंलो र हरियो रंग अंकित गरिएको र वास्तविक प्रांगारिक किसानलाई बिषादी प्रयोग गरिएको रातो रंग उल्लेख भएको परिचय पत्र वितरण गरिएकाले केही कृषि उद्यमीले आक्रोश पोखेका छन् ।
कार्यालयमा बसेर अर्गानिक र बिषादी प्रयोग भएर छुट्याएको तर कृषि फार्मसम्म पुगेर कसले के गरेको छ हेर्न नसकेको गुनासो किसानहरुले गरेका थिए ।
किसानहरुको उक्त रुष्टताप्रति जिल्ला कृषि कार्यालयका प्रमुख शरदचन्द्र श्रेष्ठले भने केही त्रुटी भएको स्वीकार गरेका छन् । सो त्रुटी भोली नै सच्चाउने आश्वासन समेत श्रेष्ठले दिएका छन् ।
काठमाडौं कृषि कार्यालयले पहिचान गराएको उद्यमी कृषकहरुमा अधिकांश किसान जिल्ला बाहिरबाट आई जग्गा भाडामा लिएर तरकारी खेती गर्नेहरु रहेका छन् । काठमाडौं जिल्लाका स्थायी किसानहरु भने उद्यमी किसान पहिचान परिचयपत्र पाउनबाट बञ्चित बनेका छन् ।

प्रकाशित मिति: मङ्लबार, असार १७, २०७१