शुक्रबार, बैशाख १४, २०८१

जैविक मल बनाउन सेड निर्माण

इलाम, १३ असार । इलाम नगरपालिकाबाट निस्कने जैविक फोहरबाट मल बनाउने सेडको निर्माण गरिएको छ । पोलिथिनमुक्त इलाम नगरमा सड्ने फोहर छुट्याएर मल बनाउन सेडको निर्माण गरिएको इलाम नगरपालिकाका वातावरण शाखा प्रमुख दीपक गुरागाईंले बताउनुभयो । निर्माण सकिएको सेडको सञ्चालन तत्काल गरिने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा अहिले मासिक १४ मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमध्ये सात मेट्रिक टन सड्ने किसिमको फोहर हुन्छ । फोहरबाट मल उत्पादन सुरु हुनु अगावै ‘वान किचन, टू डस्बिन’को व्यवस्था गरिएको छ । नगरपालिकाको कतिपय घरमा अहिले पनि एउटै किचनमा दुई वटा डस्बिन राख्न थालिएको छ । नगर क्षेत्रमा पूर्ण रूपमा यो अभियान लागू भएपछि सातामा दुईपटक सड्ने फोहर उठाउने र दुईपटक नसड्ने फोहर उठाइने गुरागाईंले जानकारी दिनुभयो ।
सेड सञ्चालनका लागि जागृति नेपाल नामक संस्थासँग सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । अहिले बनेको सेडबाट महिनामा ५०० किलो जैविक मल उत्पादन गर्न सकिने नगरपालिकाले जनाएको छ । त्यहाँबाट उत्पादन भएको मल यही प्रयोग गर्नका लागि विभिन्न किसिमका कार्यक्रम गरिनेछ । फोहर व्यवस्थापनलाई चक्रमा परिणत गर्न सिम नेपालले लगानी गरेको बताउँदै सिम नेपाल प्रमुख सुवास चन्दले भन्नुभयो–“फोहर व्यवस्थापनलाई चक्रमा परिणत गर्न सकियो भने मोहर पनि बनाउन सकिन्छ, वातावरणमैत्री पनि हुन्छ ।” सेड निर्माणका लागि सिम नेपाल आयोजनाले रु १३ लाख ६२ हजार, फोहरमैला व्यवस्थापन केन्द्रको रु पाँच लाख र उपभोक्ता समितिले रु दुई लाख गरी रु २१ लाख ६२ हजार लगानी गरिएको नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७१