शनिबार, बैशाख २२, २०८१

मोहनामा डल्फिन देखिन थाले

कैलाली (अत्तरिया), ८ असार । कैलालीको मोहना नदीमा डल्फिन देखिन थालेका छन् । मोहना नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका हुन् । मोहनामा तीनवटा डल्फिन देखापरेको डल्फिन संरक्षण उपकेन्द्र ढुङ्गाना टोलका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । वर्षायामको समयमा कैलालीको पथरैया र काँडा नदीमा जलसतह बढेपछि डल्फिन देखिने गरेका उहाँले जानकारी दिनुभयो । नदीमा डल्फिन देखिन थालेपछि अवलोकन गर्ने सर्वसाधारणको भिड लाग्ने गरेको बताइएको छ । वर्षायाममा कैलालीका कान्द्रा, पथरैया, काँडा र मोहना नदीमा डल्फिन देखिने गरेकामा अहिले फाट्टफुट्ट मात्र देखापर्ने गरेको स्थानीय भीम विकले बताउनुभयो । उहाँका अनुसार वर्षायाममा कर्णालीका सहायक कान्द्रा र पथरैया नदीमा जलसतह बढेको बेला डल्फिन देखिने गरेका छन् । पहिले ती नदीमा सयौँको सङ्ख्यामा देखिने डल्फिन अहिले कममात्र देखिने गरेका छन् । कैलालीका कान्द्रा, पथरैया, काँडा र मोहना नदीमा गँगेटिभ जातका डल्फिन देखिने गरेको बताइएको छ ।

प्रकाशित मिति: आइतवार, असार ८, २०७१