बिहिबार, बैशाख १३, २०८१

पानीको अभावले मकै उत्पादनमा कमी

ललितपुर, ८ असार । समयमा नै पानी नपरेकाले यस वर्ष ललितपुर जिल्लामा मकै उत्पादनमा कमी आउनुका साथै धान रोपाइँमा ढिलाइ भएको छ । अहिले मकैले धान चमरा निकाल्ने बेला भइसकेको भए पनि अहिलेसम्म मकैलाई पुग्ने गरी पानी नआएको ललितपुर जिल्ला कृषि विकास कार्यालय ललितपुरका कृषि प्रसार अधिकृत लेशबहादुर केसीले बताउनुभएको छ । उहाँका अनुसार मकै लगाइसकेको समयदेखि अहिलेसम्ममा कम्तीमा पनि तीनपटक माटो राम्रोसँग भिज्ने गरी पानी आइसक्नुपर्ने भए पनि यस वर्ष एकपटक पनि पानी राम्रोसँग नआएकाले गत वर्षको तुलनामा यस वर्ष ८ देखि १० प्रतिशतसम्म मकै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । अघिल्लो वर्ष ललितपुरमा २४ हजार ९०८ टन मकै उत्पादन भएको थियो भने यस वर्ष पहिलो वर्षको उत्पादनको तुलनामा निकै कमी आउने भएको छ । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ ।
ललितपुरमा विशेषगरी मकै उत्पादन हुने क्षेत्रअन्तर्गत गोटीखेल, कालेश्वर, भारदेउ, भट्टेडाँडा, गोदावरी, हरिसिद्धिलगायतका दक्षिण ललितपुरका स्थान पर्दछन् । पानी नपरेका कारण मकैमा कमी आउने मात्र नभई जिल्ला ग्रामीण भेगमा धान रोपाइँ गर्न पनि ढिलो भइसकेको छ । अघिल्ला वर्षहरूमा जेठ महिनाको मध्येतिरबाट नै धान रोपाइँ सुरु हुन्थ्यो भने यस वर्ष अहिलेसम्ममा मुस्किलले एक दुई स्थानमा मात्र धान रोपाइँ भएको छ । ललितपुरमा गत वर्ष धान २६ हजार ४४२ टन उत्पादन भएको थियो ।     यस वर्षका लागि धान दिवस आउनै लाग्दासमेत रोपाइँका लागि आवश्यक पानी नपरेकामा किसानहरू चिन्तित देखिएका छन् ।

प्रकाशित मिति: आइतवार, असार ८, २०७१