शुक्रबार, बैशाख २१, २०८१

भक्तपुरमा ४० प्रतिशत रोपाइँ सम्पन्न

भक्तपुर, ८ असार । असारको पहिलो हप्तामै जिल्लामा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । किसानहरूले आधुनिक प्रविधि अपनाउने क्रममा पम्पसेटको माध्यमबाट सिँचाइ गरेकाले जिल्लामा असारको पहिलो सातामै ४० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि कार्यालयका प्रसार अधिकृत नरेशचन्द्र घिमिरेले जानकारी दिनुभयो । शनिबार भक्तपुरको थिमी, दुवाकोट, झौखेल, छालिङ, नगरकोट, बागेश्वरी, ताथली र सुडालको अवलोकन भ्रमणपछि घिमिरेले उत्साहित हुँदै भन्नुभयो, “विगतमा साउनमा रोपाइँ हुने स्थानमा समेत रोपाइँ भइरहेको देखियो ।” उहाँले थिमीमा बढ्दो शहरीकरणका कारण खेती कम हुँदै आए पनि भएकामध्ये ७० प्रतिशत रोपाइँ भएको बताउनुभयो । साथै, दुवाकोट, झौखेल, छालिङ, नगरकोट, बागेश्वरीमा ५० प्रतिशत र ताथली र सुडालमा भने ३० प्रतिशतको हाराहारीमा रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको दुई मुख्य मनोहरा र हनुमन्ते खोला किनारको फाँटमा सिचाइँको सहज सुविधा भए तापनि सिटार, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नंखेललगायत गाउँमा आकाशेपानीको भरमा रोपाइँ गरिन्छ । घिमिरेले यस वर्ष हालसम्म मनसुनले आफ्नो प्रभाव देखाउन नसकेकाले जिल्लाको दक्षिणी भेगमा भने रोपाइँको चटारो नदेखिएको जानकारी दिनुभयो । उहाँले सिटार, दधिकोट, बालकोट, गुण्डु, सिपाडोल र नंखेललगायत क्षेत्रमा २० प्रतिशतभन्दा कम रोपाइँ भएको बताउनुभयो ।
गत वर्ष बढी फल्ने लोभमा चाइनिज हाइब्रिड धान रोपेका किसानहरू यस वर्ष भने कृषिको बीउतर्फ आकर्षित भएको उहाँको भनाइ छ । गत वर्ष चाइनिज हाइब्रिड धान डि वाइ ६९ मा नेक ब्लास्ट रोगका कारण बाला भुसिएपछि उत्पादन शून्य भएको थियो । जिल्लामा नेक ब्लास्ट रोगका कारण ३६० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको थियो । भक्तपुरको ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३५२ हेक्टरमा धानखेती गरिन्छ । भक्तपुरमा वार्षिक २५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । भक्तपुरमा प्रतिहेक्टर छ टन धान उत्पादन हुने गरेको छ, जुन नेपालभरिको तुलनामा दोब्बर भएको कृषि कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतवार, असार ८, २०७१