शनिबार, बैशाख ८, २०८१

चिया किसान दोहोरो मर्कामा

इलाम, ८ असार । यो वर्ष खडेरीले उत्पादन घटेर मर्कामा परेका इलामका चिया किसान आफूले उत्पादन गरेको हरियोपत्तीको मूल्य कारखानाले घटाएपछि झनै मर्कामा परेका छन् । गत सालको तुलनामा आधामात्र मूल्य पाएका किसानले चियाखेतीमा लगानीअनुसार आम्दानी नभएपछि चियाखेतीको विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । दोस्रो चरणको टिपाइ सकिन लाग्दा किसानले तराईमा हरियो चियाको मूल्य प्रतिकिलो अधिकतम् रु १५ र पहाडमा रु ३५ सम्म पाएका छन् । गतवर्ष प्रतिकिलो रु ७५ सम्म बिक्री भएको हरियोपत्तीको मूल्य यसपटक आधा कम भएको छ । चिया कारखानाहरूले कारखानाबीच आपसी सहमतिमा मूल्य घटाएर आफूहरूलाई मर्कामा पारेको किसानहरूको गुनासो रहेको छ । कारखाना सञ्चालकले भने चियाको गुणस्तर खस्किएको र बढी मूल्य दिँदा गतवर्ष कारखाना घाटामा गएको भन्दै मूल्य घटाउनुपरेको बताएका छन् । सूर्याेदय नगरपालिकाका चिया किसान काजीमान कागते भन्नुहुन्छ, “खडेरीले पत्ती उत्पादन नभएको वर्ष अझ कम मूल्य निर्धारण हुँदा किसान मारमा परेका हुन् ।” खडेरीले यस वर्ष गत वर्षको तुलनामा कम मात्र पत्ती उत्पादन भएको छ ।
गतवर्ष यही मौसममा दैनिक एक लाख किलोग्राम चिया उत्पादन भएकामा यस वर्ष करिब ६० हजार केजीमात्र पत्ती उत्पादन भएको कारखाना सञ्चालकहरूले बताएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पनि यस वर्ष पत्तीको मूल्य रु ३५ देखि ४० सम्ममात्र छ । श्रीअन्तुस्थित इलाम टी प्रोड्युसर्स प्रालिले किसानलाई तिर्नुपर्ने चियाको मूल्य करिब रु चार करोड यो वर्षमात्र किस्ताबन्दीमा उपलब्ध गराएको थियो । भारतीय व्यापारीले चिया कारखानामा लगानी गरेको र बजार पनि उनीहरूले नियन्त्रणमा राखेकाले चिया बिक्रीमा समस्या आएको केन्द्रीय चिया सहकारी सङ्घ इलामले जनाएको छ । सङ्घले किसानहरूको सहकार्यमा उद्योग सञ्चालन गर्न ध्यान दिनुपर्ने सङ्घका अध्यक्ष गोविन्द दाहाल बताउनुहुन्छ । अधिकांश चिया उद्योगको आफ्नो बगान नभए पनि उनीहरूले किसानको चियाको मूल्य तोक्नु विडम्बना भएको जनाउँदै सङ्घले सरकारले चियाको न्यूनतम् मूल्य नतोक्दा किसान मर्कामा पर्ने उहाँको दाबी छ । चिया रोपेको तीन÷चार वर्षमा मात्र उत्पादन सुरू हुने र एक किलोग्राम हरियो चियापत्ती उत्पादनका लागि रु २५ सम्म लागत पर्ने किसानको भनाइ छ । देशभरका २२ जिल्लामा चियाखेती विस्तार भइसकेको छ भने २२ हजार हेक्टर क्षेत्रमा ३० हजारभन्दा बढी परिवार चियाखेतीमा संलग्न रहेको सङ्घले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, असार ८, २०७१