शुक्रबार, बैशाख १४, २०८१

कृषिका समस्या समाधान गर्न क्रान्तिकारी किसानको माग

काठमाडौँ, ३१ जेठ । अखिल नेपाल किसान सङ्घ(क्रान्तिकारी)ले सरकारसँग कृषि क्षेत्र र किसानका समस्या समाधान गर्न माग गरेको छ । सङ्घका अध्यक्ष ठाकुरप्रसाद चापागाईंद्वारा आज जारी विज्ञप्तिमा जोताहाको नाममा जग्गा दर्ता गरिनुपर्ने, सामन्ती भूस्वामित्वको अन्त्य गरी कृषिमा व्यावसायिक र आधुनिकीकरण गरिनुपर्ने, क्रान्तिकारी भूमिसुधार लागू गरिनुपर्नेलगायत १४ बुँदे माग राखिएको उल्लेख छ । सम्पूर्ण ऐलानी, पर्ती, अव्यवस्थित जमिन, जग्गाधनी अनुपस्थित जमिन गरिब तथा भूमिहीनलाई दर्ता गरिनुपर्ने, मल, उन्नत बीउ, कीटनाशक औषधि, कृषि औजारलगायत सामग्री निम्न तहका किसानलाई निःशुल्क वितरण गरिनुपर्ने, प्राङ्गारिक मल उत्पादन केन्द्र निर्माण गरिनुपर्ने माग सङ्घले राखेको छ । चुरे क्षेत्र संरक्षणका लागि तुरुन्त पहल गरिनुपर्ने, खेतीयोग्य जमिनमा भूमाफिया र अनाधिकृत व्यक्तिले अनावश्यकरुपमा उर्वरा भूमिलाई खण्डीकरण गर्दै जमिनको ठूलो हिस्सा अनुत्पादक कार्यमा लगाउने काम बन्द गरिनुपर्ने, किसानले लिएको कृषि ऋण मिनाहा गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ३१, २०७१