शनिबार, बैशाख १५, २०८१

कृषि कार्यक्रममा पैसाको चलखेल

काठमाडौं, जेठ ९ । कृषि विकास मन्त्रालय मातहत रहेको कृषि सूचना तथा संचार केन्द्रले हरेक दिन नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको कृषि कार्यक्रमका लागि ९२ लाख र समाचार प्रशारण गरिदिए वापत बेग्लै बीस लाख रुपैयँ नेपाल टेलिभिजनलाई उपलब्ध गराउदै आईरहेको छ । कृषि सूचना केन्द्रले उपलब्ध गराउँदै आएको सो रकम दूरुपयोग भएको समाचार कृषि साप्ताहिकका प्रकाशित भएपछि किसानका पक्षमा कृषि कार्यक्रमले कृषि सामग्रीहरु प्रशारण गर्ने सोच लिएको थियो तर, त्यसो हुन सकेन । कृषि कार्यक्रममा कसैको आखा पुग्दैन भनेर नै होला कृषि कार्यक्रममा अझै पनि किसानका पक्षमा वकालत गर्ने सामग्री प्रशारण हुनुको सट्टा नेपाली जनताले तिरेको करबाट टेलिभिजनबाट खरिद गरिएको समयमा विदेशी दातृ निकायहरुले सञ्चालन गरेका कामहरुलाई नै महत्वदिएर उनीहरुको सोचमा कृषि कार्यक्रम अगाडि बढिरहेको देखिन्छ । जसले गर्दा कृषि कार्यक्रम प्रशारण भएका बेला किसानहरुले टेलिभिजन नै बन्द गर्नु पर्ने वाध्यता उत्पन्न भएको छ ।
पछिल्लो समयमा कृषि कार्यक्रममा मन्त्रालय मातहत गरिएका कार्यक्रहरु भन्दा पनि सिंचाई विभाग र उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्रसग सम्झौता गरी व्यक्तिको परिचय कार्यक्रम प्रशारण हुन थालेको छ ।
रकमको चलखेलका कारण कृषि सूचना केन्द्रले यतिखेर मोटो रकम हत्याउने प्रयासले मन्त्रालयको रकममा खरिद गरिएको नेपाल टेलिभिजनको महंगो समयमा असम्वन्धित बाहिरका व्यक्ति तथा संघसंस्था मिलोमतो गरी कार्यक्रमको मर्म विपरित सिंचाई विभागका थापा थरका व्यक्तिसंग मिलेर रकम हत्याउने काम कृषि सूचना केन्द्रका कर्मचारीहरुले गरेका छन् ।
कृषि कार्यक्रम भित्रका केही दिनको कार्यक्रम नेपाल टेलिभिजनबाट नै उत्पादन हुने सम्झौता टेलिभिजनसंग गरिएको भएपनि ती वाहेकका कार्यक्रममा केन्द्रका कर्मचारीहरुले मिलेमतोमा गैरसरकारी संस्था वा निजी संस्थाहरुको बृत्तचित्र उत्पादन गरी कृषि कार्यक्रममा नै प्रशारण गर्ने व्यवस्था गरेर सरकारको लाखौं रुपैयँ डुवाएर व्यक्ति मोटाउने काम भएको देखिन्छ । कृषि क्षेत्रको व्यवसायिकता होस् वा नहोस् तर कृषि सूचना केन्द्रको अवैधानिक व्यवसायिकता मार्फत कर्मचारी फस्टाउने काम भने भईरहेको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७१