शनिबार, बैशाख १५, २०८१

नीलगाईको आतङ्क

कपिलवस्तु, ५ जेठ । कपिलवस्तुको हथौसामा नीलगाईको आतङ्कबाट किसान हैरान भएको छ । किसानले लगाएको तरकारी भेन्डी, साग, लौका, बोडीलाई गाउँ आसपासका जङ्गलबाट आएका नीलगाईले खाई सखाप पारेपछि किसानलाई पुन्पोरोमा हात समाउनुबाहेक अरू केही नरहेको हथौसा–६ का किसान देवीराम पौडेलले बताउनुभयो । nil gai

रातिको १२ बजेसम्म बसेर रखवारी गर्छौं । १२ बजे बल्ल सुत्ने गर्छौं, बिहान उठ्दा तरकारी बारीमा बोट मात्रै हुन्छ, फल हुँदैन किसान पौडेलले गुनासो गर्नुभयो । तरकारीखेती उत्पादनबाटै घर खर्चदेखि छोराछोरीलाई पढाउने उद्देश्यले व्यावसायिक तरकारीखेती गर्न लागे पनि जङ्गली जनावरले फलेको खेती खाइदिँदा निकै समस्या भएको उहाँको भनाइ छ ।
अर्का कृषक बिमा पौडेलले राति अबेरसम्म तरकारी बारीमा रखवारी गरी अब आएन भनी सबै सुत्न जान्छौँ, राति १÷२ बजेकै समयमा नीलगाईहरुले तरकारी सखाप पार्छन् भन्नुभयो । सो समस्याबारे वन कार्यालयलाई जानकारी गराए पनि सो समस्याबारे कुनै सुनुवाइ नभएको गुनासो किसानको छ ।
उता सेक्टर वन कार्यालय पिपराका प्रमुख सुरेन्द्र श्रेष्ठले सोबारे अहिलेसम्म कसैले आफूलाई जानकारी नगराएको र अब छिट्टै यसको समाधानतर्फ पहल गरिने बताउनुभयो । राष्ट्रिय वनमा डढेलो लागेपछि नीलगाईहरु बस्तीमा पस्न थालेको बताइएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ५, २०७१