सोमवार, बैशाख २४, २०८१

तरकारी बजारमा विषादी प्रयोगशाला

काठमाडौं,२४ वैशाख/कालिमाटी फलफूल तथा तरकारी बजारमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशालाको स्थापना हुने भएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालयले कालिमाटी फलफूलतथा तरकारी बजारको परिसरमा यो प्रयोगशाला स्थापना गर्न लागेको हो।
 यसका लागि एक साता भित्रै काम सुरु हुने निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए। यसबाट काठमाडौंमा अत्यधिक विषादी प्रयोग गरिएको तरकारी र फलफूलको आपूर्ति कम हुने अपेक्षा गरिएको उनले बताए।
‘व्यवसायिकताको नाममा अहिले बजारमा पाइने गरेका तरकारीमा अत्याधिक विषादीको मात्रा प्रयोग गरेको पाएका छौं,’सुवेदीले भने,’यो प्रयोगशालाको स्थापना भएपछि बजारमा यस्ता तरकारी र फलफुलको बिक्री घट्नेछ। धेरै विषादी प्रयोग गरी बिक्री गर्ने व्यवसायीलाई पनि कारवाही गर्न सकिनेछ।’ सुरुमा परीक्षणको रुपमा कालिमाटीमा स्थापना गरिएको भए पनि यसको प्रभाव हेरेर अन्य ठाउँमा समेत विस्तार गर्न सकिने उनले बताए।
काठमाडौं बाहिर पोखरा, विराटनगरलगायकतका प्रमुख शहरमा पनि यस्तै प्रयोगशाला स्थापना गर्ने लक्ष्य भएको उनले बताए।
यो प्रयोगशालाको स्थापनापछि उपभोक्तामात्र नभई किसानहरु पनि लाभान्वित हुने निर्देशनालयको अपेक्षा छ। किसानहरुलाई किटनाशक विषादीले मानिसको शरीरमा पार्ने असरबारे चेतना जगाउन सकिने विश्वास निर्देशनालयले लिएको छ। ‘विषादीको असर विषादी हालिएको तरकारी खाने उपभोक्तालाई मात्र नभई विषादी छर्ने किसानलाई पनिउत्तिकै पर्ने गर्छ,’ सुवेदीले भने। यसपछि देशका किसानहरु प्रांगारिक खेतीतर्फ आकर्षित भई विषादीको प्रयोग घट्ने सम्भावना रहेको समेत सुवेदीले बताए। ‘देशका विभिन्न ठाउँका किसानहरुले उत्पादकत्व बढाउने नाममा विषादीको व्यापक प्रयोग गरिरहेका छन्। यो उपभोक्ताका लागि निकै हानिकारक छ,’ उनले थपे,’किसानहरुलाई मानिसको स्वास्थ्य र वातावरणमा विषादीले गर्ने असरबारे चेतना जगाउन यो प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्नेछ।’
सरकारले कालिमाटी तरकारी बजारमा स्थापना गर्न लागेको प्रयोगशालामा विषादीको मात्रा मापन गर्ने इन्स्पेक्टोमिटर प्रयोग गर्ने भएको छ। यसकालागि संयुक्त राष्ट्र संघको फुड एन्ड एग्रिकल्चर अगर्नाइजेसन (एफएओ) ले सरकारलाई आर्थिक सहयोग प्रदान गरेको छ। सरकारले यो उपकरण खरिद गरिसकेको उनले बताए। करीव १५ लाख रुपैंयाँमा उपकरणसहितको यस्तो प्रयोगशाला बन्न सक्ने सुवेदीले बताए। यो प्रयोगशाला सञ्चालनका लागि विशेष तालिमको आवश्यकता पर्ने भएकाले चार जनाप्राविधिकहरुलाई तालिमका लागि सिंगापुर पठाइएको छ।
कृषि विकास मन्त्रालयको एक प्रतिवेदनले अन्य एसियाली देशको तुलनामा नेपालमा विषादीको प्रयोग कम रहेको जनाएको छ। तथापी, नेपालमा प्रयोग हुने ९० प्रतिशत भन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेको छ। पछिल्लो दश वर्षमा नेपालमा २ सय ९५ मेटि्रक टन विषादी भित्रिएको सरकारी तथ्यांक छ। सरकारी स्रोतहरुका अनुसार नेपालले पछिल्ला वर्षहरुमा वार्षिक ३८ करोड रुपैयाँ बराबरको विषादी आयात गर्ने गरेको छ।
कृषिमा प्रयोग गरिने विभिन्न किसिमका विषादीहरुले देशका १५ लाख किसानहरुको स्वास्थ्यमा असर गरेको एक अध्ययनले देखाएको छ। चिकित्सकहरुले विषादी प्रयोग गरिएको तरकारी र फलफुलको सेवनले क्यान्सर लगायतका रोगहरु देखा पर्ने बताउने गरेका छन्। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र केही अन्य संघ संस्थाहरुले विषादीको मात्रा र प्रयोग परीक्षण गर्ने गरे पनि प्रयोगशाला स्थापना गरेर व्यापक रुपमा परीक्षण गर्न थालिएको यो पहिलोपल्ट हो।
केही महिनामा नै संचालनमा ल्याउने भनिएपनि विभिन्न प्राविधिक समस्या र परिसर नभएकाले ढिलाई भएको सुवेदीले बताए। -नागरिकबाट
प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१