शनिबार, बैशाख १५, २०८१

बाख्रापालक किसान सङ्घ गठन

चितवन, १६ वैशाख । नारायणगढमा सम्पन्न व्यावसायिक बाख्रापालक कृषकहरुको राष्ट्रिय भेलाले नेपाल व्यावासायिक बाख्रापालक किसान सङ्घ तदर्थ समिति गठन गरेको छ । रवीकिरण पौडेलको संयोजकत्वमा गठित ३३ सदस्यीय तदर्थ समितिको सहसंयोजकमा पाँचै विकास क्षेत्रका प्रतिनिधिलाई समावेश गरिएको छ । पाँच जना सहसंयोजकमा खोटाङका श्यामकुमार पोखरेल, धादिङका सत्यनारायण ध्वजू, दाङका कर्मसिंह केसी, नवलपरासीका महेश ढकाल र नुवाकोटका कृष्णप्रसाद सेढाईं रहनुभएको छ । समितिको सचिवमा शङ्कर मैनाली, सहसचिवमा नवराज अर्याल र कोषाध्यक्षमा झरना बराल (घिमिरे) चयन हुनुभएको छ । सोमबार अबेर सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो । भेलामा २३ जिल्लाका करिब ७० जना व्यावसायिक बाख्रापालक किसानको सहभागिता थियो ।
नेपालमा व्यावसायिक रुपमा बाख्रापालन गर्ने किसानलाई उन्नत जातको बाख्रा भित्र्याउन, उन्नत जातको घाँस उत्पादन गर्न सरकारले आवश्यक मात्रामा सहयोग गर्न नसकेको किसानको गुनासो छ । व्यावसायिक बाख्रापालक किसानहरु पहिलो पटक सङ्गठित भएका हुन् । यसैबीच, गत वर्ष बर्डफ्लुका कारण ठूलो नोक्सानी भएको चितवनमा यस वर्ष रोग भित्रन नदिन सरकारी निकाय र निजी क्षेत्र सङ्गठित रुपमा लागि परेका छन् । गत वर्ष चैत १६ देखि जेठ ८ गतेसम्म जिल्लाका १६ ठाउँमा बर्डफ्लु देखा परेपछि व्यवसायीले करोडौँको नोक्सानी व्यहोर्नु परेको थियो । यसवर्ष रोग भित्रिन नदिन जैविक सुरक्षालाई विशेष जोड दिन लगाइएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १६, २०७१