शुक्रबार, चैत्र १६, २०८०

उत्तरी दश गाविसमा खाद्यान्न अभाव

khadhyanna ko abhavखोटाङ, १६ वैशाख । लामो खडेरीका कारण खोटाङको उत्तरी दश गाविसमा खाद्यान्न अभाव भएको छ । खडेरीका कारण हिउँदे बाली उत्पादनमा कमी आएपछि जिल्लाको बाक्सिला, फेदी, खार्ताम्छा, बासपानी, सप्तेश्वर, सुङ्देल, दिप्सुङ, राखा, जालपालगायतका गाविसमा खाद्यान्न अभाव भएको हो । गहुँ, आलु, धान, मकैलगायत हिउँदे बालीको उत्पादन घटेका कारण उत्तरी क्षेत्रमा समय अगावै खाद्यान्न अभाव सुरु भएको बाक्सिलाका समीर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्यान्न अभावका कारण नेपाल खाद्य संस्थानको बाक्सिलास्थित डिपो कार्यालयले समेत उपभोक्ताको मागलाई धान्न सक्ने अवस्था छैन, एक क्विन्टलको माग गर्दा कार्यालयले बढीमा ५० केजीभन्दा दिन सक्ने अवस्था छैन ।” खडेरीका कारण खेतबारीमा लगाइएको अन्नबालीको उत्पादन घटेपछि चामल लिन आएका उपभोक्ताको मागलाई डिपो कार्यालयले धान्न नसकेको राईको भनाइ छ ।
खाद्य संस्थानले यसवर्ष बाक्सिला डिपो कार्यालयमा चामलको कोटा घटाएर पठाएका कारण उपभोक्ताको मागलाई धान्न नसकिएको कार्यालय प्रमुख गणेशप्रसाद पोखरेलले बताउनुभयो । गतवर्ष डिपो कार्यालयमा दुई हजार क्विन्टल चामल पठाएको संस्थानले यस वर्ष एक हजार २०० क्विन्टल मात्र चामल पठाएको कारण समय अगावै चामल सकिन लागेको डिपो कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो । उहाँका अनुसार डिपो कार्यालयमा अहिले जगेडाबाहेक ३०० क्विन्टल मात्र चामल बाँकी रहेको छ । तीन क्विन्टल चामल माग्न आउने उपभोक्तालाई ५० केजी चामल दिएर पठाउनुपर्ने अवस्था भएको डिपो कार्यालयले जनाएको छ । चामलको कोटा घटेकाले डिपो कार्यालयमा बाँकी रहेको चामल दश गाविसका उपभोक्तालाई बाँड्दा एक÷दुई माना पनि नपर्ने अवस्था आएको पोखरेलको भनाइ छ । डिपो कार्यालयले गाविसको सिफारिसमा चामल वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १६, २०७१