आइतवार, बैशाख १६, २०८१

रु ३८ करोडको आलु चिप्स आयात

potato chips

वीरगन्ज, १ बैशाख । नेपालमा बसैनि झन्डै रु ३८ करोड मूल्यबराबरको आलुको चिप्स आयात हुने गरेको छ ।

नेपाली किसानलाई व्यावसायिक रुपमा चिप्स बनाउन सरकारले प्रोत्साहन गर्न नसक्दा वार्षिक करोडौं रुपैयाँ चिप्स आयातका लागि विदेशिने गरेको हो ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा आज सो कार्यालयमा आयोजित ‘घरेलुस्तरमा आलु चिप्स बनाउने तरिका’ विषयक तालिमका अवसरमा कृषि वैज्ञानिक तथा प्राविधिकले सो जानकारी दिनुभयो ।
“हाम्रो जस्तो कृषि प्रधान मुलुकका किसानले कृषिजन्य उत्पादन निर्यात गरेर आम्दानी बढाउन सक्ने सम्भावनाको उपयोग गर्नुको सट्टा उल्टै चिप्सका लागि विदेशी किसान माथि आश्रित हुनु बिडम्बना हो र यसले परनिर्भरताको परकाष्ठालाई थप उजागर गरेको छ”–नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारका वरिष्ठ वैज्ञानिक एवम् प्रशिक्षक ईश्वरीप्रसाद गौतमले भन्नुभयो ।
“चिप्स बनाउनका लागि प्रयोग गरिने आलुको छनोटमा विशेष ध्यान दिनुपर्दछ”–प्रशिक्षक एवम् प्राविधिक रमेशचन्द्र खतिवडाले भन्नुभयो, “आलुको जातअनुसार चिप्सको गुणमा फरक पर्ने भएकाले विशेषगरी चिप्स बनाउनका लागि राम्ररी छिप्पिएको, कम र पातलो आ“खा भएको सेतो आलु नै सबैभन्दा बढी उपयुक्त हुन्छ ।”
राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा गरिएको परीक्षणका आधारमा काठमाडौँ क्षेत्रका लागि पिआरपी २५८६१.१, खुमल सेतो–१ र एल– २५३.४ जातका आलु चिप्स बनाउनका लागि राम्रो देखिएको वरिष्ठ वैज्ञानिक गौतमले बताउनुभयो ।
“गरिब, विपन्न र सामाजिक तथा आर्थिक रुपले पिछडिएका समुदाय एवम् वर्गको जीवनस्तर माथि उकास्नका लागि यो तालिम अत्यन्त उपयोगी देखिएको छ”–क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका वरिष्ठ कृषि वैज्ञानिक एवम् तालिम व्यवस्थापक जीतनारायण चौधरीले भन्नुभयो ।
चिप्स उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याई गरिबी न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा बारा, पर्सा, मकवानपुर र रौतहटका ४० महिला किसानको सहभागिता रहेको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख १, २०७१