शुक्रबार, चैत्र १६, २०८०

लालीगुराँस महोत्सव सुरु

बागलुङ, १ बैशाख । बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा हिजोदेखि प्रथम घुम्टे लालीगुराँस महोत्सव सुरु भएको छ ।

पर्यटन प्रवद्र्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा भएको महोत्सव आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।
गुराँस फुल्ने याममा महोत्सव गर्न लागिएकाले पर्यटक आगमनमा पनि वृद्धि हुने विश्वास लिइएको केन्द्रका अध्यक्ष झम्कबहादुर बस्नेतले बताउनुभयो ।
केन्द्रले यो वर्षलाई घुम्टे अध्ययन भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भ्रमणवर्षकै अवसर पारेर गुराँस महोत्सव आयोजना गरिएको बस्नेतले बताउनुभयो ।
समुन्द्री सतहदेखि १० हजार ३९३ फिटको उचाइमा रहेको घुम्टेको धुरीमा आयोजित महोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । महोत्सवका अवसरमा आयोजित ऐतिहासिक गलकोट दरवारदेखि घुम्टेको धुरीसम्मको पर्यटन दौड प्रतियोगिता गरियो । दौड संगै महोत्सवका अन्य कार्यक्रमहरू पनि सुरु भएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव राजबहादुर थापाले बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, बैशाख १, २०७१