बुधबार, बैशाख १९, २०८१

चुलाचुलीमा पशुस्वास्थ्य शिविर

इलाम, २४ चैत । चुलाचुली गाविसका पशुहरूमा नाम्ले जुका बढी मात्रामा पर्ने गरिएको पाइएको छ । चुलाचुलीमा आइतबार सञ्चालित एकदिने पशु स्वास्थ्य शिविरका क्रममा किसानले उपचारका क्रममा ल्याएका गाई, भैँसी, गोरु र बाख्रालाई जुकाले बढी सताउने गरेको पाइएको हो । “खुल्ला चरिचरन, पौष्टिक आहाराको कमी, सीमसामको घाँस आदिका कारण नाम्ले जुका परेको पाइयो”–जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले भन्नुभयो–“नाम्ले जुका नियन्त्रणका लागि निःशुल्क औषधि बाँडेका छौँ ।”
जिल्ला पशुसेवा कार्यालयको आयोजनामा भएको स्वास्थ्य शिविरमा १५० पशुको गोबर परीक्षण, ६५ वटाको उपचार, १९० पशुलाई निःशुल्क औषधि वितरण गरिएको छ । आन्तरिक परजीवी नियन्त्रण अभियानअन्तर्गत रोग प्रभावित क्षेत्रमा पशु स्वास्थ्य शिविर राखिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । “गोबर परीक्षण गर्दा नाम्ले जुकाले पशुलाई सताउने गरेको रहेछ, औषधि वितरण गरेपछि नियन्त्रण हुन्छ”–कार्कीले भन्नुभयो ।

प्रकाशित मिति: सोमवार, चैत्र २४, २०७०