मङ्लबार, जेष्ठ ८, २०८१

खोरेतका कारण दार्चुलामा डेढ सय पशुचौपाया मरे

दार्चुला, २४ चैत । अहिलेसम्म खोरेत रोगका कारण दार्चुलामा १४३ पशुचौपाया मरेको जिल्ला पशुसेवा कार्यालय दार्चुलाले जनाएको छ । खोरेत लागेर सबैभन्दा बढी साना प्रजातिका पशु मरेका सो कार्यालयका वरिष्ठ पशु चिकित्सक वसन्तबहादुर सिंहले बताउनुभयो ।तीन÷चार महिनायता दार्चुलामा देखिएको खोरेत रोग अझै नियन्त्रणमा आउन सकेको छैन । सुरुमा जिल्लाका लेकम क्षेत्रमा पर्ने पाँच गाविसमा देखापरेको खोरेत अहिले झन्डै २४ वटा गाविससम्म फैलिएको छ ।
लेक क्षेत्रमा खोरेत आङ्शिकरुपमा नियन्त्रणमा आए पनि अहिले जिल्ला सदरमुकाम खलङ्गा आसपासका गाविसमा देखिएको र खलङ्गा तथा धाप गाविस उच्च जोखिममा रहेको जिल्ला पशुसेवा कार्यालयले बताएको छ । ती गाविसमा खोरेत नियन्त्रणका लागि जिल्ला पशुसेवा कार्यालयबाट प्राविधिकको टोली परिचालन गरिएको र अहिलेसम्म जिल्लाका १० हजार पशुचौपायालाई खोरेतविरुद्धको भ्याक्सिन लगाएको र अन्य पशुचौपायालाई पनि लगाउने क्रम जारी रहेको चिकित्सक सिंहको भनाइ छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २४, २०७०