शनिबार, बैशाख १५, २०८१

पूर्व प्रम भट्टराई बाख्रापालनको तयारीमा

Baburam_Bhattaraiकाठमाडौँ, १६ चैत । पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने धारणा व्यक्त गरेका छन् । गोरखा पर्यटन समाजले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा डा भट्टराईले भने, “मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु ।” उनले विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउँदै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताए । उनले भने, “छोराछोरीलाई विदेश पठाउने र उनीहरू उतै बस्ने तथा बाबुआमा काठमाडौँमा आएर बस्ने दुवै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ ।” परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुवै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उनको भनाइ थियो । उनले भने, “मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने तयारीसमेत गरेको छु ।” गोरखा जिल्लाका सभासद्समेत रहेका डा भट्टराईले गोरखालाई विकासको नमुना जिल्ला बनाउने पक्षमा आफू रहेकोसमेत बताए ।-कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, चैत्र १६, २०७०