बिहिबार, बैशाख २७, २०८१

व्यावसायिक तरकारीखेतीले फेरियो गाउँको मुहार

बागलुङ, ६ चैत । तित्याङ–८ कमलडाँडा कि इनाकली थापा झिसमिसेमै डोकोभरि हरियो साग बोकेर सहर झर्न थालेको वर्षांै बितिसक्यो । सोही स्थानका राजु थापामगरले त २०५१ सालदेखि नै घरको कृषिजन्य उत्पादन बजार पु¥याउनुहुन्थ्यो । कृषिको व्यावसायिकताबारे थाहा नै नपाइरहेको अवस्थामा पनि कमलडाँडाका किसानले घरमा उत्पादन भएको केही न केही वस्तु बजार लैजान्थे बेच्थे अनि डोकोमा घरखर्चको सामान बटुल्थे र केही पैसाको जोहो गर्दै साँझ फर्कन्थे । यो कमलडाँडावासीका लागि त कुनै नौलो छैन । तर, त्यहाँका किसानले उतिबेला बसालेको चलन अहिले आएर राम्रो व्यावसायिकतामा फेरिएको छ । त्यहाँका किसान जो कोही बजार या सहर झर्दा रित्तो हात नजाने भनेर चलन बसालेका छन् । कमलडाँडाका अगुवा किसान बलबहादुर थापाले भन्नुभयो “यो त हाम्रो उहिलेदेखिकै कुरा हो, हामी कोही पनि बजार जाँदा केही न केही बेच्ने चीज लिएर जान्छौँ, खाली हात जान्नौँ ।” थापाले आफूहरूसँग बेच्नको लागि धेरै वस्तुहरू भएका कारण रित्तो हात बजार जानै नपर्ने बताउनुभयो ।
सदरमुकामदेखि एक घण्टाको पैदलदुरीमा अवस्थित कमलडाँडाका किसानले बनाएको कमलडाँडा ताजा तरकारी तथा फलफूल कृषि समूहका सदस्यले उक्त मान्यतालाई स्वीकारेर सो बमोजिम गरिरहेका छन् । समूहमा अहिले ३९ जना किसान सदस्य आबद्ध छन् । वर्षभरिका हरेक याममा केही न केही कृषि फसल त्यहाँ उत्पादन हुने गरेको छ । मौसम र बेमौसममा समेत गरेर उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन, सङ्कलन र बजारीकरणमा समूह सक्रिय भएर लागेको छ । समूहकी अध्यक्ष तेजकुमारी थापामगर कृषि उत्पादनमा आफ्नो गाउँ नमुना भएको दाबी गर्नुहुन्छ । त्यहाँका हरेक किसानले व्यावसायिक रुपमा कृषिलाई अँगालेका छन् ।
मौसमअनुसारका तरकारी र फलफूल उत्पादन गर्दै आएका किसानले कृषिमा आएका नयाँ प्रविधि र पद्धतिलाई पनि पछ्याइरहेका छन् । कृषि विकास कार्यालयले पनि किसानलाई प्रोत्साहित गर्न भौतिक, आर्थिक र प्राविधिक सहयोगसमेत प्रदान गर्दै आएका छन् । घरमा उत्पादन हुने हरेक वस्तुलाई बजार पठाउने र त्यसबाट लाभ उठाउने कुरामा सबै कृषक एकमत देखिन्छन् । तरकारी, फलफूलजस्ता कृषिजन्य उत्पादनबाट कमलडाँडामा वार्षिक लाखौँ रुपैयाँ भित्रिने गरेको समूहका सचिव राजु थापामगरले बताउनुभयो । ‘हामीकहाँ हरेक याममा केही न केही उत्पादन भइरहेको हुन्छ, त्यसको बजारीकरणमा कुनै समस्या पनि छैन’ थापामगरले भन्नुभयो ‘नजिकै सदरमुकाम भएकाले पनि सजिलो भएको छ, यो हाम्रो लगन र परिश्रमको प्रतिफल पनि हो ।’-कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७०