शनिबार, बैशाख १५, २०८१

बगैँचामा ग्रिनिङ रोगको प्रकोप पछि तरकारीखेती

तनहुँ, ६ चैत । सुन्तलाको बगँैचामा एकाएक ग्रिनिङ (एक किसिमको भाइरस) सङ्क्रमणका कारण सुन्तलाका बोट मर्दै जान थालेपछि जिल्लाको आँबु–२ बरादी दुम्री डाँडाका किसान बगँैचा फाँडेर तरकारीखेती गर्न थालेका छन् ।
सुन्तलाखेतीका लागि पकेट क्षेत्र मानिने सो क्षेत्रमा बगँैचामा रहेका सुन्तलाका बोट मर्दै जान थालेपछि वैकल्पिक खेतीका रुपमा तरकारीखेती थालेका हुन् । सो गाउँमा मात्र करिब २०० घरधुरीले व्यवसायिक रुपमा सुन्तलाखेती गर्दै आएका थिए । सङ्क्रमणका कारण सुन्तलाका बोटको टुप्पोबाट सुक्दै जाने, फल सानो तथा अमिलो हुने, उत्पादन कम हुँदै जान थालेको स्थानीय किसान बताउँछन् । कुनैबेला सो गाउँबाट मात्रै एक मौसममा करिब दुई करोड भन्दा बढी मूल्यको सुन्तला बिक्री भएकोमा अहिले आएर रु एक लाखमा चित्त बुझाउनु परेको स्थानीय युवा कृषक बद्री पौडेलले बताउनुभयो ।
सुन्तलामा लागेको भाइरस एक किसिमको क्यान्सर जस्तै भएकाले त्यसको उपचारसमेत नहुने भएपछि सुन्तला बगैँचा फाडेर तरकारीखेती गर्न लागेको कृषक पौडेलले बताउनुभयो । पौडेलले आफ्नो बगैँचामा रहेको सबै सुन्तला फाँडेर यतिबेला तरकारीखेती गरिएको बताउनुभयो । त्यस क्षेत्रका अन्य किसान पनि सुन्तला बगैँचा फाँडेर मौसमअनुसारको तरकारीखेती गर्न थालेका छन् । सुन्तलामा लागेको भाइरस निवारणका लागि दुई÷तीन वर्ष बगैँचा खाली गराउनुपर्ने जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख राजेन्द्रकुमार मल्लले बताउनुभयो । जिल्लाका प्रायः सुन्तला उत्पादन हुने ठाउँमा ग्रिनिङको समस्या देखिएको पनि मल्लले बताउनुभयो । ग्रिनिङको उपचार सम्भव नभएकाले बगैँचा खाली गराएर सुरक्षित विधिबाट उत्पादित सुन्तलाको बिरुवा लगाउनुपर्ने उहाँले बताउनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७०