शुक्रबार, बैशाख २१, २०८१

कृषि मन्त्रीद्धारा दातृ निकायको निर्देशनमा मात्र कार्यक्रम नगर्न आग्रह

to day

काठमाडौं २१ फागुन । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले दातृ निकायहरुको सहयोगमा सञ्चालन भएका आयोजनाहरु दातृ निकायको निर्देशनमा मात्र निर्देशित नहुन आग्रह गर्नु भएको छ । मन्त्री पराजुलीले आज मन्त्रालय मातहतका कार्यालय प्रमुखहरुसँगको छलफल कार्यक्रममा सो कुरा बताउनु भएको हो । दातृ निकायहरुको अनुदानका आयोजनाहरु सञ्चालनका लागि सम्झौता गर्नु अगाडि दातृ निकायहरुको निर्देशित कार्यक्रम भन्दा पनि मन्त्रालयको आवश्यकता अनुरुपको आयोजनाहरु सहज रुपमा सञ्चालन हुने गरी सम्झौता गर्न पनि आग्रह गर्नु भएको छ ।
नेपालका कृषि विज्ञहरु विदेशी दातृनिकायहरुको आयोजनामा लालायित भएका कारण पनि नेपाली कृषि क्षेत्रले फड्को मार्न नसकेको मन्त्री पराजुलीको दावी थियो । कृषिलाई व्यवस्थित र व्यवसायिकरण गर्नका लागि कृषिमा सम्पन्न केही देशका राजदूतसँग आफूले कुराकानी गरिसकेका बताउँदै उहाँले शुभ संकेत पाएको समेत बताउनु भयो ।
सो कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले मन्त्रालय मातहत सञ्चालन भएका आयोजनाहरुको डुप्लिकेशन रोक्ने कार्यको थालनी भईसकेको उल्लेख गर्नु हुँदै मन्त्रालय मातहतका भवन तथा जग्गाहरु सुरक्षा निकायहरुले प्रयोग गरिरहेको र ती सम्पत्तिहरु फिर्ता गर्ने कुरामा सहमत भईसकेको भएपनि केही समस्याका कारणले फिर्ता हुन नसकेको बताउनु भयो । साथै कृषि अनुसन्धान परिषद्मा राम्रा वैज्ञानिकहरु भएको भएपनि सेवा सुविधाका कारणले धेरै नै समस्या भएको उल्लेख गर्नु भयो ।
सो कार्यक्रमका मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमहरु सञ्चालनमा रहेका आयोजनाहरु एवं मन्त्रालय भित्रका समस्या र चुनौतिहरुको बारेमा कार्यत्रपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २१, २०७०