सोमवार, बैशाख २४, २०८१

मकैको बीउमा आत्मनिर्भर

गुल्मी,फागुन १५– गुल्मी जिल्ला मकैको बीउमा आत्मनिर्भर भएको छ । जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार जिल्लामा ४० टन बढी बीउ उत्पादन गरेको छ । जिल्लामा १८ लाख ४० हजारको मकैको बीउको कारोबार हुने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए । “४० टनमध्ये १५ टन जिल्लाकै बृहत्तर मकैबाली उत्पादन कार्यक्रमका लागि प्रयोग हुन्छ, उनले भने , ‘८ देखि १० टन अर्घाखाँची र बाँकी १५ टन किसानले आफैँ परम्परागत किसानलाई बिक्री वितरण गर्ने गर्छन् ।” अघिल्लो वर्ष जाजरकोट, सुर्खेत, दैलेमा पाँच टन मकैको बीउ पठाएको उनले बताए ।corn pic

यसवर्ष भने विगतको तुलनामा २५ प्रतिशत मकैको बीउ उत्पादन बढ्ने उहाँको भनाइ छ । गुल्मीमा रेसुङ्गा २, गुल्मी २, मनकामना ३, देउती, रामपुर कम्पोजिट, अरूण २, मनकामना १, मनकामना ६ गरी आठ जातका मकैको बीउ उत्पादन भइरहेको छ । त्यसमध्ये रेसुङ्गा २ र गुल्मी २ गुल्मीमै विकास भएका मकै बीउका जात हुन् । जिल्लामा अत्यन्तै सफल रहेका यी जात जिल्ला कृषि विकास कार्यालयले यसलाई सिफारिस गरे पनि कृषि अनुसन्धान केन्द्रबाट भने प्रमाणित हुन बाँकी रहेको कृषि विकास कार्यालयले जनाएको छ । “जिल्लामै विकास भएका रेसुङ्गा २ र गुल्मी २ एकदम राम्रो उत्पादन दिएकाले हामीले सिफारिस गरिसकेका छाँै तर कृषि अनुसन्धान केन्द्रबाट सिफारिस हुन बाँकी छ, वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने, सिमीचौर, दरबारदेवीस्थान, बम्घा, अर्खले, हस्तीचौर, पुर्कोट र भनभने गाविसमा मकैको बीउ उत्पादन हुन्छ ।” जिल्लामा सरोकारवालाहरूको बैठकले बीउ मकैको मूल्य तोकी तोकिएको मूल्यमा कृषि विकास कार्यालयले खरिद गर्ने र २५ प्रतिशत छुटमा किसानलाई उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

रु ४० प्रतिकिलो जिल्लाको दर रहेकामा यसरी २५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदा ३४ रुपैयाँ ५० पैसा कृषि कार्यालयले अनुदान दिने र किसानलाई जम्मा प्रतिकिलो ११ रुपैयाँ ५० पैसा पर्ने उहाँले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १६, २०७०