शनिबार, बैशाख २२, २०८१

खोरेत नियन्त्रण गर्न घरदैलो

बनेपा, १५ माघ । काभ्रेपलाञ्चोकमा खोरेत रोगले महामारीको रुप लिएपछि नियन्त्रणका लागि आजदेखि रोग नियन्त्रण घरदैलो कार्यक्रम सुरु भएको छ । सबैभन्दा बढी रोग प्रभावित क्षेत्र मानिने कुशादेवीबाट खोरेतको अवस्था बुझ्नाका साथै त्यसलाई नियन्त्रण गर्ने प्रक्रियाका बारेमा कृषकलाई जानकारी दिइएको छ । घरदैलो कार्यक्रममा पशुसेवा विभागका उपनिर्देशक डा उदयचन्द्र ठाकुरले खोरेतको सबैभन्दा बढी प्रभाव काभ्रे र चितवनमा देखिएको जानकारी दिँदै घरदैलो कार्यक्रमको उद्देश्य पशुको मृत्युदर घटाउनु हो भन्नुभयो ।  उहाँले खोरेतको भ्याक्सिनको अभाव हटाउन भारतसँग कुराकानी भएको उल्लेख गर्दै कृषकलाई पशुको चरिचरन नियन्त्रण गर्न आग्रह गर्नुभयो । पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा सम्झना काफ्लेले जिल्लामा खोरेतको महामारी जटिल रुपमा देखापरेको बताउनुभयो । पशु विभागका उपनिर्देशक डा ठाकुरसहित पशु चिकित्सकको टोलीले कृषकका घरमा पुगेर खोरेतका बारेमा जानकारी लिएको थियो । ठाकुरका अनुसार अहिले १९ जिल्लामा खोरेत रोग नियन्त्रणको प्रयास भएको र  पाँच लाख खोरेतको भ्याक्सिन निःशुल्क वितरण गर्ने लक्ष्य छ ।  घरदैलो कार्यक्रमका लागि झन्डै ५० जना प्राविधिक प्रिचालन भएका छन् ।  पशु कार्यालयको तथ्याङ्कअनुसार अहिलेसम्म काभ्रेमा ३१ पशु खोरेतका कारण मरिसकेका तथा १९ गाविसका एक हजार पशु बिरामी परेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७०