शनिबार, बैशाख ८, २०८१

सुन्तला खेतीले राम्रो आम्दानी दिन सक्छ भन्ने उदाहरण नाच्नृचौर गाविस

पोखरा, १५ माघ । कास्की जिल्लाको दक्षिणी भेकमा पर्ने कृस्ती नाच्नेचौर गाविसको दोपहरे र बयलीबाट यस वर्ष मात्रै दुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको छ । उत्तर फर्केको भिरालो जमिन भएका कारण परम्परागत शैलीबाट यहाँका कृषकले सुन्तलाखेती गर्दै आएका भए पनि केही वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्न थालिएको छ । करिब ४०० रोपनी क्षेत्रफलको जमिनमा कृषकले सुन्तलाखेती गरेका छन् । आफूसँग भएको पुख्र्याैली जमिनमा आफ्नै सीप, अनुभव र लगनशीलताका कारण पुर्खाले गर्दै आएको पेसालाई व्यावसायिकतातर्फ ढालेको बताउनुहुन्छ स्थानीय कृषक खिमलाल सुवेदी । उहाँ २०४२ सालबाट व्यावसायिक रूपमा १३ रोपनीमा सुन्तलाखेती गरेको बताउनुहुन्छ । गएको वर्ष आफ्नो बारीमा रहेका २०० वटा सुन्तलाका बोटबाट उहाँले चार लाख रुपैयाँ आम्दानी गर्नुुभएको थियो । यो वर्ष लगभग १५ टन सुन्तला बिक्री गरी रु ६ लाख ३५ हजार आम्दानी गरेको कृषक सुवेदीले जानकारी दिनुभयो ।
उहाँको सुन्तला बिक्री गर्न डोकोमा बोकेर बजार धाउनु पर्दैन, ठेकेदारहरू बगैँचामै आएर बोटबाटै खरिद गर्ने गर्दछन् । यो सालको वातावरण सुन्तलाका लागि अनुकूल रहेकाले सुन्तला बढी फल्न गई आम्दानी बढी भएको बताउँदै विदेश लाग्ने युवाहरूका लागि स्वदेशमा पनि प्रशस्त सम्भावनाहरू छन् तर व्यावसायिकरुपले लाग्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ उहाँ । यस्तै सोही गाउँका अर्का कृषक बद्रीनाथ सुवेदीले पनि एक लाख १० हजारमा रूखैबाट ठेक्कामा पूरै सुन्तला बेचेको बताउँदै यहाँको सुन्तलामा लागेको रोग र व्यवस्थापनजस्ता कुरामा कृषि विकास कार्यालयले त्यति ध्यान नदिएको गुनासो उहाँको थियो । अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादन राम्रो रहेका कारण यहाँका कृषकलाई राम्रै फाइदा भएको उहाँको भनाइ छ । तर गाउँको बीचबाट पोखरा–कृस्ती, शिवालय सडक परेको हुँदा सो सडकको धुलोले सुन्तलाखेती मात्र नभई पूरै वातावरणलाई समेत असर परेको उहाँ  दुःखेसो पोख्नुहुन्छ । त्यस्तै कृस्ती–२ का अर्का कृषक शशिधर सुवेदी आफूले आफ्नो पुख्र्यौली जमिनमा परम्परागत शैली र तरिकामा बिरुवा रोपेर सुन्तलाखेती गर्दै आएको बताउनुहुन्छ । विगत केही वर्षदेखि व्यावसायिकरूपमा खेती गर्दै आएका शशिधरको बारीमा ३५० बोट सुन्तला छन् । सबै बोटले उत्पादन दिइरहेको बताउँदै उहाँ यो पटक चार लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेको बताउनुहुन्छ । पात झर्ने रोग, फल सानो लाग्ने, भाइरस ग्रिनिङजस्ता रोगले आक्रमण गरेको  भए पनि जिल्ला कृषि विकास कार्यालयले खासै चासो नदेखाएको कृषकहरूको गुनासो छ । कास्कीमा कृस्ती नाच्नेचौर, निर्मलपोखरी र भरतपोखरीलाई सुन्तलाको पकेट क्षेत्रकै रूपमा लिने गरिन्छ भने सुन्तला उत्पादनका अन्य क्षेत्रहरूमा कालिका, हंसपुर, देउराली र थुम्की  पनि प्रख्यात मानिन्छ । यहाँ उत्पादित सुन्तलाको मुख्य बजार पोखरा हो । पोखरामा हाल बागलुङ¬, पर्वत, स्याङ्जाबाट समेत सुन्तला आउने गर्दछ । यहाँको सुन्तला देशका अन्य जिल्लामा समेत निर्यात गर्ने गरेको बताउनुहुन्छ धादिङ घर भई पोखरामा सुन्तला व्यापार गर्दै आएका कृष्णबहादुर श्रेष्ठ ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७०