शुक्रबार, बैशाख १४, २०८१

लापाअन्तर्गत प्रस्तावित बजेट ३९ करोड

जुम्ला, १५ फागुन । जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल लिवर्ड जुम्लाले जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्ययोजना लापाअन्तर्गत ३९ करोड बराबरको बजेट प्रस्तावित गरेको छ । बजेट प्रस्तावित गरिएका गाविसमा हाँकुमा रु १२ करोड छ लाख ५५ हजार, मालिकाठाँटामा रु १३ करोड ८२ लाख ६० हजार र ताम्तीमा १३ करोड १२ लाख ९५ हजार गाविस हँुदै जिल्लास्तरीय गोष्ठीबाट अनुमोदन गरी माथि पठाइएको लिवर्ड जुम्लाका परियोजना अधिकृत लक्ष्मी लामाले जानकारी दिनुभयो । अधिकृत लामाका अनुसार बेलायती सहयोग नियोग(डिएफआइडी) र युरोपियन युनियनको आर्थिक सहयोगमा वातावरण मन्त्रालयको जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत अहिलेलाई जिल्ला तीनवटा गाविसमा लापा तयार पारिएको छ ।
लिवर्डले जुम्लाका हाँकु, मालिकाठाँटा र ताम्ती गाविसमा जलवायु परिवर्तनसम्बन्धी गरेको गाविसस्तरीय प्रारम्भिक गोष्ठी, वडास्तरीय भेला गरी स्थानीय अनुकूलन कार्ययोजना निर्माण गरी सोको समायोजन तथा अनुमोदन गाविस तथा जिल्लास्तरबाट गरिएको प्राविधिक सहायक रत्नचन्द्र उपाध्यायले जानकारी दिनुभयो । सो संस्थाले कार्यक्रम कार्ययोजना निर्माण हुनपूर्व जलवायु परिवर्तनबारे सङ्कटापन्न समुदाय तथा वर्ग पहिचान, जीविकोपार्जनका आधारको पहिचान, प्रकोपको प्राथमिकीकरण, सचेतना, नक्साङ्कन, प्राकृतिक, आर्थिक, सामाजिक र मानवीय स्रोतको अवस्था सङ्कलनका विषयमा विश्लेषण गरी सोहीअनुसार रकम प्रस्ताव गरिएको लिवर्ड जुम्लाले जनाएको छ । लापा तयारको क्रममा तीनवटै गाविसमा हिमपात थोरै हुने, पग्लने दरमा वृद्धि, खोलाको पानीको बहाव कम हुने, मुहान सुक्ने, खडेरी पर्नेजस्ता कुराले जलवायु परिवर्तनमा प्रभाव पार्नुका साथै कृषि क्षेत्रमा अन्न उत्पादनमा ह्रास, मरुभूमीकरण बढ्दै जाँदा खेती लगाउने समयको कठिनाइ, हिमाली र पहाडी क्षेत्रमा धेरै समय खेती गर्न सकिने, पशुपालनबाट कम उत्पादन र बाली चाँडो पाक्नेजस्ता प्रभाव देखिन थालेको लापा निर्माण टोलीले अवगत गराएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १५, २०७०