शनिबार, बैशाख १५, २०८१

म्याग्दीका खेतीयोग्य जमिन बाँझो

म्याग्दी, मङ्सिर । सरकार कृषि क्षेत्रको विकासका लागि युवा लक्षित कार्यक्रम भन्दै फोस्रो आश्वासन वितरण गरिरहेको छ । युवाहरु भने पासपोटै वोकेर खाडीमा रोजगारीका लागि लम्किरहेको छन् । मुलुकमा र स्थानीय रुपमा नै रोजगारीको ग्यारेण्टी नभएपछि म्याग्दी जिल्लाका अधिकांश क्षेत्रका युवा पुस्ता पलायन भएका कारण जिल्लाको एक तिहाइभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको छ ।
वैदेशिक रोजगारी र सुविधाभोगी जीवनशैलीका कारण अहिले खेतीयोग्य जमिन बाँझिने समस्या बढेको हो । तीस हजार ८५६ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार ४९८ हेक्टरमा मात्र खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताएका छन् । कुल खेतीयोग्य जमिनको ६३ प्रतिशत मात्र प्रयोगमा आएको छ भने जिल्लाभर ३७ प्रतिशत जमिन बाँझो छ । युवा जमात विदेश तथा उनीहरूका परिवार सुविधाको खोजीमा सहरमा अस्थायी रूपमा बसोबास गर्न थालेपछि खेतीबाली लगाउने, भित्र्याउने, गोडमेल गर्ने जनशक्तिको अभाव भएको छ ।
“काम गर्ने जनशक्ति अभाव र आयातित खाद्यान्नमा परनिर्भरता बढेपछि खेतबारी बाँझो बनेको हो,” रिजालले भन्छन् । जिल्ला कृषि विकास कार्यालयद्वारा २०७० सालमा गरिएको कृषि गणना प्रतिवेदनअनुसार जिल्लामा मकैखेती हुने १५ प्रतिशत, कोदोखेती १० तथा जौ र उवाखेती हुने १५ प्रतिशत जमिन बाँझो रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १४, २०७३