शनिबार, बैशाख १५, २०८१

मूल्य बढेपछि स अनुगमन

काठमाडौं, १५ मंसिर । तरकारीको मूल्य क्रमिक रूपpayaj ओरालो लाग्न थाले पनि बजारमा प्याजको मूल्य भने एक्कासी बढेको छ । स्थानीय बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३५ रुपैयाँसम्म पुगेको छ । व्यवसायीले भारतबाटै भाउ बढेर आएकाले महँगो भएको दावी गरिरहे पनि मूल्यवृद्धि अस्वभाविक भएको भन्दै सरकारले बिहीबार बजार अनुगमन गरेको छ ।
भारतले निर्यातमा कडाइ गरपछि प्याजको मूल्य बढेर आएकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ । एक साताअघि प्रतिकेजी ८० रुपैयाँ रहेको प्याजको खुद्रा मूल्य अहिले बढेर १ सय ३५ रुपैयाँ पुगेको छ । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले पसलपिच्छे फरकफरक मूल्य लिइ उपभोक्ता ठगिरहेको अधिकारकर्मीहरू बताउँछन् । भारतमा प्याजको उत्पादन कम भएकाले मूल्य बढ्न गएको व्यापारीको भनाइ छ । कालीमाटीका प्याज विक्रेता भरत उप्रेतीले भारतमा प्याजको उत्पादन कम भइ मूल्य बढेर आएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको बताए । “पुरानो उत्पादन बिक्री भइसकेपछि नयाँ उत्पादन बजारमा आउँदा महँगो भएको छ,” उनले भने, “ भारतमै प्याजको उत्पादन कम भएपछि बजारमा महँगो पर्न गएको हो ।” कालीमाटी बजारमा बुधबार प्रतिकेजी प्याजको होलसेल मूल्य नै १ सय ५ रुपैयाँ पुगेको छ । भारतमै प्रतिकेजी प्याजको मूल्य भारु ५५ रहेको उनले जानकारी दिए ।
कालीमाटी बजारमा दैनिक १० गाडी प्याज भित्रने गरेकोमा केही दिनयता एक गाडीमात्र आएको व्यवसायी बताउँछन् । प्याजको मूल्य बढेकाले बजारमा यसको खपत घटेको छ । भारतबाट ९८ प्रतिशत आयात हुने भए पनि स्थानीय स्तरमा प्याजको उत्पादन नहुँदा भारतसँग परनिर्भरता छ ।
कालीमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले भारतबाटै प्याजको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए । भारतले अन्य देशमा प्याज निर्यात गर्नका लागि शुल्क लगाएकाले त्यसको असर नेपालमा पर्न गएको उनको भनाइ छ । एक सातादेखि बजारमा पर्याप्तमात्रामा प्याज भित्रन सकेको छैन । भारत सरकारले अन्य मुलुकमा प्याज निर्यात गर्नका लागि प्रतिटन ८ सय ५० डलर शुल्क लगाएकाले पनि महँगिएको व्यवसायीको भनाइ छ । उपभोक्ताले थेग्न नसक्ने गरी प्याजको मूल्य बढेपछि उपभोक्तालाई प्रत्यक्ष मार परेको छ । लामो समयदेखि तरकारीको मूल्य बढेर मारमा परेका उपभोक्तालाई तरकारीको मूल्यमा सामान्य कमी आउनासाथ पुनः प्याजको मूल्य अस्वभाविक रूपमा बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा ९४ करोड ४६ लाख ६ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । जसमा ९२ करोड ९५ लाख ५६ हजार रुपैयाँको भारत र १ करोड ९१ लाख ४ हजार रुपैयाँको चीनबाट प्याज आयात भएको छ । स्थानीयस्तरमा प्याजको उत्पादन नहुँदा यसका लागि बर्षेनि अर्ब रुपैयाँ बाहिरिने गरेको छ । मुलुक कृषिप्रधान देश भएपनि अधिकांश कृषिजन्य उत्पादन भारतबाटै आयात हुने गर्छ । -लक्ष्मी सापकोटा

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४