शुक्रबार, बैशाख १४, २०८१

चार वर्षमा चार पटक बढ्यो दूधको मूल्य

काठमाडौं । दुग्ध विकास संस्थानले भाद्र १ गतेदेखि लागू हुने गरी दूधको मूल्य बृद्धि गरेको छ । दुग्ध विकास संस्थान उपभोक्ताहरुलाई वितरण गर्दै आईरहेको आधा लिटरको दूधको प्रति प्याकेट मूल्यमा थप ३ रुपैयाँ बृद्धि भएको छ । साउन मसान्तसम्म प्रति प्याकेट ३२ रुपैयाँ खरिद गर्दै आईरहेका किसानहरुले भाद्र १ गतेदेखि प्रति प्याकेट ३५ रुपैयाँ तिर्नुपर्ने भएको । ddc_milk
दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिमसिनाले पशुपन्छी विकास मन्त्रालयको स्वीकृतमा नै दूधको मूल्य प्रति लिटर ६ रुपैयाँ बढाउने निर्णय दुग्ध विकास संस्थानले गरेको बताए । उनले दूधमा भएको मूल्य बृद्धिमा किसानहरुले ६९ प्रतिशत मूल्य पाउने समेत बताएका छन् । पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्याम पौडेलका अनुसार दूधको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढाउने माग संस्थानले गरेको भएपनि मन्त्रालयको मूल्य समायोजन समितिले अहिलेको अवस्थामा ६ रुपैयाँभन्दा बढी मूल्य बृद्धि गर्न नहुने भएकाले ६ रुपैयाँसम्म बढाउन सुझाव दिएको समेत बताए ।
संस्थानका महाप्रवन्धक तिमसिनाले भने दूध उत्पादन गर्ने किसानहरुको लागत मूल्य बढिरहेको परिप्रेक्ष्यमा दूधमा मूल्य बृद्धि गर्नु परेको बताए । तर केन्द्रीय दुग्ध सहकारी संघका सचिव लीला बल्लभ सापकोटाले भने सरकारले दूधको मूल्य ६ रुपैयाँ बढाएको देखाएता पनि वास्तविक रुपका किसानले सो बराबरको रकम नपाउने बताए । उनले अहिले बृद्धि गरेको दूधको मूल्यले किसानलाई भन्दा पनि उद्योगीलाई नै फाइदा हुने बताए । नेपाल दुग्ध विकास संस्थानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ पुगेपनि खुल्ला रुपमा विक्री गरिएका दूधको मूल्य भने प्रति लिटर १० रुपैयाँ बढाइएको छ । खुल्ला रुपमा राखिएको दूधको गुणस्तर चेकजाँच गर्न नसक्दा उपभोक्ताहरुले गुणस्तरहीन दूध उपभोग गर्नु परेको छ भने अर्कोतिर मूल्य समेत चर्को तिर्नु परेको छ ।
दूधको मूल्य बृद्धि भयो तर त्यसले दूध उत्पादन गर्ने किसान र उपभोग गर्ने उपभोक्ताहरुलाई होइन दुध विक्री गर्ने उद्योगीलाई बढी फाइदा पुग्ने गरी बढाएको देखिन्छ ।dhud
प्रति लिटर ६ रुपैयाँ मूल्य बृद्धिको ६९ प्रतिशत अर्थात ४ रुपैया १४ पैसा किसानले र ३१ प्रतिशत अर्थाते १ रुपैया ८६ पैसा मात्र उद्योगीहरुल पाउने छन् । के यो सत्य हो ? तर केन्द्रिय सहकारी संघका अधिकारी सो कुरा स्वीकार गर्दैनन् संघका सचिव लिला बल्लभ सापकोटाका अनुसार यो केवल किसानलाई झुक्याउने काम हो । यो किसानको लागत मूल्य बढेको र मूल्य बढाइएको भन्दै उद्योगीहरुका लागि मात्र बढाएको उनी बताउँछन् ।
दूधको मूल्य बृद्धिका लागि सिफारिस गर्ने सरकारी संस्था राष्ट्रिय दुग्ध विकास बोर्डका उप कार्यकारी निर्देशक बाबुकाजी पन्त पनि दूध उत्पादनको लागत बढ्दै गईरहेकाले मूल्य बृद्धि गर्नका लागि सिफारिस गरेको बताउंछन् ।
दूधको मूल्य बृद्धि गर्ने दुग्ध विकास संस्थान र सिफारिस गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डको भनाई उस्तै उस्तै छ तर अहिले बढेको दूधको मूल्यले किसानका लागि ४ रुपैयाँ १४ पैसा आउन मुश्किल छ । २०६४ सालमा प्रति लिटर एक रुपैया बृद्धि गर्दा बनाएको मापदण्डलाई आधार मानी अहिले मूल्य बृद्धि गरिएको छ । जसले गर्दा किसानहरुले बृद्धि भएको रकम पाउने सम्भावना भने देखिंदैन ।
किन पाउँदैन ?
अहिले दूधमा प्रतिलिटर रुपैयाँ बृद्धि गरिएको छ यो मूल्य फ्याटको मात्रा ४ फ्याट र ८ SNF अर्थात सोलिड नट फ्याट दूधमा भए मात्र किसानले सो रकम पाउने छन् । जवकी दूध उत्पादनका लागि व्यवसायिक गाईपालन गरिरहेको किसानहरुले उत्पादन गरेको दूधको फ्याटको मात्रा ३ देखि ३.५ मात्र फ्यात हुने गर्दछ । जसले गर्दा किसानहरुले बजार हल्ला भए जस्तै प्रतिलिटर ४ रुपैया १४ पैसा प्रति लिटर दूधको मूल्यमा थप पाउने छैनन् । वास्तवमा भन्ने हो भने दूधको मूल्य बृद्धिले उपभोक्ताहरु त मारमा परेका छन् नै उद्यमीहरुलाई मोटाउने बाटो पनि बनेको छ । यदि सँच्चै किसानहरुले लागत मूल्य नपाएकै कारण दूधको मूल्य बृद्धि गरिएको हो भने दूधको मूल्य बृद्धिका लागि बनेको २०६४ को मापदण्डलाई परिमार्जन गर्नु आवश्यक छ । छिमेकी राष्ट्र भारतमा मूल्य बृद्धिको ८० प्रतिशत किसानहरुले र २० प्रतिशत उद्योगीहरुले पाउने व्यवस्था छ नेपालमा पनि त्यसलाई स्वीकार गर्न सकिएला ? -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, भदौ ४, २०७४