tea-bagan

हल्दिवारीमा अग्र्यानिक चिया

Jan 8 • समाचार

झापा, पौष । जिल्लामै पहिलो पटक अग्र्यानिक (प्रांगारिक) चिया उत्पादन गर्न झापाको हल्दिबारी र जलथलका चिया किसान जुटेका छन् । अहिले यहाँका किसान उत्कृष्ट चियापत्ती उत्पादन गर्न रात दिन मेहनत गरिरहेका छन् ।
हल्दिबारीका सतेन्द्रकुमार कर्ण पुराना चिया किसान हुन् । विसं २०५४ सालदेखि चियाखेती गर्दै आएका सतेन्द्र आफ्नै पाँच बिगाहा र अरुको गरेर १५ बिगाहा क्षेत्रफलमा चियाखेती गरिरहेका छन् । उनी विषादीरहित चियापत्ती उत्पादन गरिरहेका छन् । पहिले भने सतेन्द्रले चिया बगानमा विभिन्न किसिमका विषादी प्रयोग गर्ने गरेको बताउंछन् । तर, विषादीकै कारण परिवारका सदस्य बिरामी भएको थाहा पाएपछि उनले चियामा विषादीको प्रयोग गर्न छाडेको सुनाए । tea-bagan
जब विषादीको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने उनले थाहा पाए त्यसै दिनदेखि उनले विषादीरहित चिया उत्पादन गर्ने अठोट गरे । “विषादीको प्रयोगले किसानदेखि उपभोक्ता सबैलाई हानी गर्ने रहेछ”, उनले भने, “त्यसपछि मैले विषादीको प्रयोग गर्न छाडेको छु ।”
अहिले हल्दिबारीका अधिकांश चिया किसान विषादीरहित चिया उत्पादन गर्छन् । चियामा हाल्नुपर्ने औषधिसमेत उनीहरू आफैँले उत्पादन गर्ने गरेका छन् । तितेपाती, बकाइनो, सिमाली, मेवा, लसुन, पिर्रे झार, निम, कालो कच्चु, बोझोलाई गाईको गहुँतमा पकाएर ड्रममा राख्ने र २०–२५ दिनमा चियामा छर्ने औषधि बनाउने गरेको जलथल–५ का चिया किसान पुष्प निरौलाले बताए । उनलेभने “पहिले विषादी छर्किंदा यहाँ बस्नै सकिँदैन थियो, हुस्से लागेजस्तै हुन्थ्यो, अहिले त फाइदै–फाइदा छ ।”
झापाका अधिकांश चिया बगानमा अहिले पनि हानिकारक विषादी प्रयोग हुने गरेको छ । अज्ञानताका कारण पहिले हल्दिबारीका यी किसानले पनि विषादी प्रयोग गरे । तर, अहिले अधिकांशले आफैँ औषधि उत्पादन गर्छन् ।
“हानिकारक विषादी छर्किएपछि निर्धारित समयसम्म चिया टिप्नु हुँदैन, तर हामी त त्योभन्दा अगाडि नै टिपेर फ्याक्ट्रीमा पठाउँदा रहेछौँ” किसान सतेन्द्र भने “हामीले अहिले आफ्नै गाउँघरमा पाइने वनस्पति पहिचान गरिसक्यौँ, अब कुनै चिन्तै छैन ।” चियामा लगाउने भिटामिन पनि आफँै उत्पादन गरिरहेको उनले सुनाए । सतेन्द्रले विषादीरहित चिया उत्पादन गर्न सुरु गरेको तीन वर्ष भयो ।
झापाको चियामा लुपर, हेलोपेटिस, रेड स्पाइडर, ग्रीन फल, थ्रीप्स लगायत रोग लाग्ने गरेको छ । आफैँले उत्पादन गरेको औषधि महिनाको दुईपटक स्प्रे गर्दा यी सबै समस्या न्यूनीकरण भएको किसानहरूको अनुभव छ । आफैँले उत्पादन गरेको औषधि छर्किन थालेपछि डेढ गुणाले उत्पादन बढेको उनीहरूको दाबी छ ।
हानिकारक विषादी लगाउन छोडे पनि उनीहरू रासायनिक मल (युरिया, डिएपी, पोटास) भने लगाइरहेकै छन् । १५ बिगाहामा ६० बोरा रासायनिक मल हाल्ने गरेका सतेन्द्रले अहिले २०–२५ बोरा मात्रै हाल्ने गरेको बताए । उनले प्राङ्गारिक मल उत्पादन गर्न थालेसँगै रासायनिक मलको प्रयोगमा कमी आएको सुनाए ।
विसं २०७१ देखि निर्माण सुरु भएको फ्याक्ट्री रु आठ करोड ३४ लाखको लागतमा निर्माण सम्पन्न हुने सहकारीका अध्यक्ष हर्कबहादुर तामाङ बताए । सरकारले अहिलेसम्म फ्याक्ट्री निर्माणका लागि रु एक करोड ७० लाख दिइसकेको उनले जानकारी दिए । सन्तोष शर्मा

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »