कृषि : पढ्नेले गरेनन् गर्नेले पढेनन् कसरी बढ्ला उत्पादन

काठमाडौं, साउन । वार्षिक अवौं रुपैयाँको खाद्यान्न आयात गर्दा पनि हामी अझै कृषि प्रधान देशका रुपमा धक्कु लगाउन छाडेका छैनौ । आफैले उत्पादन गरेर वर्षभरी खान नपुग्ने व्यक्तिले आफ्नो पेशालाई कृषि भन्दै आईरहेको अवस्था ज्यूँका त्यूँ छ । हामीले हाम्रा पुर्खाले बनाईदिएको संरचनाबाट कृषि क्षेत्र धानिरहेका छौं । जसरी राणाहरु तानाशाह नै भएपनि मुलुकको सम्पत्तिलाई मुलुकभित्र नै सदुपयोग गरेका थिए । तिनै राणाहरुले नबनाईदिएको भए सायद अहिले सिंहदरबार, बागदरवार, हरिहरभवन जस्ता भवन हामीले देख्न पाउँदैनथ्यौं होला ।
हो, हामीले कृषि प्रधान देश भन्दै गर्व गर्ने तर कृषि भूमिहरुलाई नष्ट गर्दै जाने हो भने हाम्रा भावी पुस्ताले एकादेशमा हाम्रो देश अन्न प्रशस्त उब्जाउने देश थियो रे भन्ने अवस्थाको सृजना हामीले गरिरहेका छौं । हुन त विगतदेखि नै ओझेलमा पारिएको भनिएको तर कृषिका विज्ञहरुकै कारण ओझेलमा परेको कृषि क्षेत्रको विकासका लागि राज्य लागेकै छैन ।
सत्तामा पुग्ने वा किसानको छेउछाउमा उभिएर भाषण गर्नेले कृषिको ठूलै कुरा फलाक्ने गर्दछ । तर काम गरेको खै त ? सँधै कृषि प्रधान देशको नारा घन्काउने तर अवौंको खाद्यान्न आयात गरिरहने यही हो त हामीले चाहेको देश ? हाम्रा पुर्खाले संस्कृतिका रुपमा विकसित गरिदिएको कृषिलाई हामीले संस्कृतिकै रुपमा पनि जोगाउन सकिरहेका छैनौ ।
मुुलुकको कृषि क्षेत्र ग्रामिण भेगमा बसोबास गर्ने जेष्ठ नागरिकहरुले मात्र धानिदिएका छन् । पर्म गरेर होस् वा अन्यत्रका श्रमिकहरुलाई बोलाएर भएपनि कम्तिमा ग्रामिण भेगमा कृषि उपजहरु धन्न फलेका छन् । हामी अव यसरी नै जाने हो र कृषि योग्य भूमिमा उत्पादन बढाउने तर्फ नलाग्ने हो भने आगामी एक दशक पछि नेपाल पूर्ण रुपमा कृषिमा परनिर्भर हुने कुरामा दुईमत नहोला ।
सरकारले पाँच वर्षभित्र कृषि उत्पादनलाई दोव्वर बनाउने नारा लिएर अगाडि बढेपनि त्यो केवल नारामा मात्र सिमित हुने देखिएको छ । वर्तमान अवस्थालाई मूल्यांकन गर्ने हो भने कृषि क्षेत्रको विकासमा परम्परागत शैलीले नै धान्दै पनि आईरहेको छ । कृषि क्षेत्रको विकास गर्दछु भन्दै कृषि पढेका व्यक्तिहरुले कृषि गरेका छैनन् । तर जतिले कृषि उत्पादन गर्नका लागेका छन् उनीहरुले कृषि पढेका नै छैनन् ।
नपढेकाले मात्र कृषि गर्नु पर्दछ भन्ने हिजोको पुरातन सोचाईले अहिले पनि काम गरिरहेको छ । कृषि अध्ययन गरेका व्यक्तिहरु सरकारी तथा गैरसरकारी संस्थामा जागिरे मोहमा छन् । जग्गामा भन्दा पनि कागजमा नै यति प्रतिशत र उति प्रतिशत बृद्धि गर्न सकिन्छ भन्दै गणना गरेर बसिरहेका छन् । जसले आफैलाई घात गरिरहेको देखिन्छ । कृषि गर्न जति युवाहरु लालायित भएर आएका छन् तिनलाई सिकाउन काम समेत राज्यलेगरेको देखिंदैन । यो अवस्थामा कृषि क्षेत्रको विकास हुन्छ भन्नु वेकार छ । कृषि पढ्नेले कृषि गर्दै गरेनन् । गर्नेले पढ्ने अवसर नै पाएनन् । – वैकुण्ठ भण्डारी

पछिल्ला खबरहरू