बिहिबार, चैत्र १५, २०८०

कृषि मन्त्रीको सचिवालयमा किन यस्तो भिड

काठमाडौं, साउन । कृषि तथा पशुपन्छी मन्त्रालयमा यतिखेर कर्मचारीहरुको लावा लस्कर नै देखिन्छ । त्यसमाथि पनि मन्त्रीको सचिवालयको भीड देख्ने हो भने त त्यहाँ कुनै अचम्ममै काम भएर हेर्नेहरुको भीड हो कि भनेर छुट्याउनै मुश्किल पर्दछ पहिलो पटक मन्त्रालय छिरेका व्यक्तिहरुलाई ।
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल मन्त्रालयको भवनको पहिलो तल्लामा नै बस्छन् । त्यही तल्लामा राज्यमन्त्री पनि बस्छिन् । पहिलो तल्लामा मन्त्री, राज्य मन्त्रीको कार्यकक्ष र सचिवालयका व्यक्तिहरुरुको छुट्टाछुट्टै कार्यकक्ष भएकाले पुरै तल्ला यी मन्त्री र राज्यमन्त्रीकै लागि छुट्याईको छ । त्यही भएर पनि मूलढोकाबाट प्रवेश गर्ना साथ भिडभाडले पाइला राख्ने ठाउँ पाउन नै मुश्किल पर्दछ ।
कृषि विकास मन्त्रालयमा पुग्ने दातृ निकाय र विदेशी व्यक्तिहरु त सो भीड देखेर तीन छक्क नै पर्दछन् । एक त सरुवाको समय त्यसमाथि पनि कृषिको संगठन संरचना ध्वस्त भएको बेला । को कहाँ सरुवा हुने भन्ने चिन्ताले जिल्ला जिल्लामा रहेको कार्यलय प्रमुखहरु अहिले नयाँ संरचना अनुसार ज्ञान केन्द्र वा सुपर जोनमा आफूलाई सरुवाका लागि मरिहत्ते गरि लागि परेका छन् ।
जिल्लामा नभेटिएका कृषिका प्रमुखहरुलाई अहिले सिंहदरबार पसे सजिलै भेट्न पनि सकिन्छ । जिल्लादेखि निर्देशनालय, सेवाकेन्द्रदेखि एक गाउँ एक प्राविधिकसम्मका कर्मचारीहरुको जमघटले कृषि विकास मन्त्रालयमा भीड थपिएको छ । त्यसमा पनि सरुवाको ठेक्का लिएर बसेको मन्त्रीको सचिवालयमा भिड नहुने त कुरै छैन । केही समयमात्र कृषि मन्त्रीको सचिवालयमा नयाँ व्यक्ति बसिरह्यो भने उ स्वयं अल्मलिन्छ कि म कहाँ छु भनेर । कुनै राजनीतिक दलको पार्टी कार्यालयमा पसे जस्तै भान हुन्छ । ‘कमरेड’ को सम्वोधनले त झन् त्यसलाई अझ पुष्टि नै गराउँछ । त्यही सरुवाका कारण मन्त्रीको सचिवालयमा भीड भाड बढ्दै गईरहेको छ ।
अहिलेको कर्मचारी सरुवामा राम्रै मलजल हुने भीडमा उभिएका कर्मचारीको गाइँगुईपनि सुनिन्छ । जिल्ला कृषि कार्यालय खारेजमा परेपछि दरवन्दीमा पनि निकै नै समस्या देखिएको छ । त्यसैले पनि कम्तिमा ज्ञान केन्द्रसम्म मात्र पाएपनि सन्तोष गर्ने ठाउँछ भन्छन् उनीहरु । त्यसका लागि साम, दाम दण्ड भेद सवै कुराको व्यवस्था सहित कर्मचारी सचिवालयमा विहान सवेरैदेखि हाजिर हुने गर्दछन् । अहिलेको सो भीडले कत्ति जनालाई पेण्डुलम बनाउने हो त्यो भने सातादिन भित्रै छर्लङ्ग हुनेछ ।

प्रकाशित मिति: आइतवार, साउन २०, २०७५