मङ्लबार, बैशाख १८, २०८१

कृषक समुह बनाउने सभासद्को अभियान

पर्वत, ८ वैशाख । पर्वत क्षेत्र नं–२ का सभासद् विकास लम्सालले गाउँगाउँमा कृषकको समूह बनाउने अभियानमा  जुटेका छन् ।। गाउँगाउँमा व्यावसायिक कृषकको सङ्ख्या बढाउने र आत्मनिर्भर बनाउने उद्देश्यले सो अभियान थालेका हुन् । कृषि र पशुपालनको प्रचुर सम्भावना भए पनि युवाको आकर्षण पैदा हुन नसकेकाले अभियान थालेको सभासद् लम्सालको भनाइ छ ।
“हरेक वर्ष रु एक करोड रकम पशुपालन र कृषिमा लगाउने योजना छ” उनले बताए । कृषकलाई पशुपालन र व्यावसायिक कृषिका लागि अनुदान र ऋण लिनका लागि सहजीकरण गर्ने उनले बताए । कृषिलाई आधुनिकिकरण गर्ने तथा पशुजन्यमा आधारित उत्पादनको प्रर्र्वद्धन र व्यावसायिकताको विकास गर्ने अभियानको उद्देश्य रहेको छ ।
कृषि अभियानको बारेमा जानकारी दिन सोमबार सदरमुाकाम कुस्मामा वृहत कृषक भेला सकिएको छ । सभासद् लम्सालले सहभागी कृषकलाई कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमै अगाडि बढाउन आग्रह  गरे ।
पशु उत्पादन निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशक डा विमलकुमार निर्मलले किसानलाई पशुपालनमा प्रोत्साहन गर्न सरकारी अनुदान, तालिम र प्राविधिक सहयोग गर्ने बताए । “कृषकलाई फार्ममै गएर पशुपालनको आधुनिकिकरण र व्यवस्थापनबारे तालिम दिँदै छौँ” उनले भने।

प्रकाशित मिति: मङ्लबार, बैशाख ८, २०७२