मङ्लबार, बैशाख १८, २०८१

कफी उत्पादन बढ्ने

मेलम्ची, १५ पुस । सिन्धुपाल्चोक जिल्लामा उत्पादित अर्गानिक कफीको उत्पादन अघिल्लो वर्षको तुलनामा बढ्ने भएको छ । जिल्ला कृषि विकास कार्यालयकाअनुसार यो वर्ष धेरै ठाउँमा किसानले कफी उत्पादन गरेकाले उत्पादन बढ्ने भएको हो । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २५ टन ड्राइ पार्चमेन्ट कफी र चार हजार किलो चेरी कफी उत्पादन भएको थियो । यो वर्ष त्यसको तुलनामा १५ प्रतिशतभन्दा बढीले कफी उत्पादन बढ्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । जिल्लाका ३२ गाविसमा व्यावसायिक रुपमा कफीखेती गरिँदै आएको छ । जिल्ला कफी सहकारी सङ्घको अगुवाइमा ६४ कृषक समूहमा ६२५ घरधुरीले व्यावसायिक कफीखेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नवराज थापाले जानकारी दिनुभयो । जिल्लाभर १५४ हेक्टर जमिनमा कफीखेती गरिँदै आएको छ । यो वर्ष कार्यालयले २५ हेक्टर जमिनमा कफीखेती विस्तार गर्ने कार्यक्रम रहेकाले थप कफी उत्पादन हुने प्राविधिक सहायक थापाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा उत्पादित कफीले दुई वर्षअघिदेखि अन्तर्राष्ट्रिय बजार पाएको थियो । यहाँ उत्पादित कफी जापान, जर्मनी, कोरियालगायत युरोपका विभिन्न देशमा निर्यात हुने भएकाले पनि किसान कफीखेती गर्न हौसिएका छन् । पछिल्लो वर्ष १८ टन पार्चमेन्ट र पाँच टन चेरी कफी जापान, कोरिया र जर्मनीमा निर्यात भएको थियो । प्राङ्गारिक प्रमाणीकरण गरेर पठाइएको कफी विदेशी बजारमा गुणस्तरीय ठहरिएपछि माग बढेको हो ।

अन्तर्राष्ट्रिय बजार र नेपालका ठूला सहरमा निर्यात हुने भएपछि किसानले जिल्ला कफी सहकारी संस्था गठन गरी व्यावसायिकता अङ्गालेका हुन् । जिल्लाको साँगाचोक, इचोक, यमुनाडाँडा, मांखालगायत ३२ गाविसका किसानले व्यावसायिक रुपमा कफीखेती गर्दै आएका छन् । किसानद्वारा उत्पादित कफीलाई जिल्ला कफी सहकारी सङ्घले संयोजन गरी विदेश निर्यात गर्ने गरेको छ । कफी उत्पादन गर्ने किसानले वार्षिक एक करोेडभन्दा बढी जिल्ला भित्र््याउने गरेका छन् । सङ्घमा जिल्लाभरका दुई हजार १५० भन्दा बढी किसान आबद्ध रहेको जिल्ला कफी सहकारी सङ्घले जनाएको छ । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा जिल्लाको एक गाविसलाई कफीको पकेट क्षेत्र बनाउने तयारी गरिएकाले पनि कफी उत्पादन बढ्ने जनाइएको छ । पकेट क्षेत्र विस्तार गरिने भएकाले अन्य गाउँका कृषक पनि कफीखेतीमा लाग्ने भएकाले उत्पादन वृद्धि हुने कार्यालयको अनुमान छ । मन्त्रिपरिषद्को बैठकले जिल्लामा उत्पादन भएको कफीमा उच्च गुणस्तर भएको निष्कर्ष निकाल्दै पकेट क्षेत्रका रुपमा विकास गरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मङ्लबार, पुस १५, २०७१