बुधबार, बैशाख १९, २०८१

छ महिनादेखि पशुसेवा केन्द्र प्राविधिकविहीन

सल्यान, २३ असार । सल्यानका तीन पशुसेवा केन्द्र छ महिनादेखि प्राविधिकविहीन भएका छन् । पशु चौपायालाई रोगको सङ्क्रमण हुने समयमा पशुसेवा केन्द्र प्राविधिकविहीन बनेपछि जिल्लाका १३ गाविसका बासिन्दा सेवाबाट वञ्चित भएका छन् । प्राविधिकविहीन बनेका सेवा केन्द्रमा मूलखोला, रागेचौर र भल्चौर रहेका छन् । प्राविधिकविहीन भएका कारण सानातिना कामका लागि कार्यालय सहयोगीबाट गराउन र पशुमा देखिएका समस्याका लागि निजी क्लिनिकमा जान बाध्य भएका छन् । वर्षात्को समयमा पशुलाई विभिन्न रोगबाट सङ्क्रमण हुने भएकाले यस्तो अवस्थामा प्राविधिक नहुँदा पशुहरू उपचार नपाएर मर्ने गरेको भल्चौर– १ का नेत्रलाल रोकाले बताउनुभयो ।
पशुसेवा कार्यालयमा प्राविधिक पठाउनका लागि बारम्बार कुरा उठाएका छौँ तर पनि यसको सुनुवाइ भएको छैन । उहाँले भन्नुभयो, “गाविसमा भएको सेवा केन्द्र नाममात्रको छ ।” सेवा केन्द्रमा सहयोगीमात्र भएकाले हिजोआज अधिकांश किसान समस्याका विषयमा कुरा बुझ्न जानै छाडेका छन् रागेचौरका डिल्ली रानाले भन्नुभयो, “कुनै सुविधा पाइँदैन भने किन जानु कार्यालयमा । कार्यालय हुनु नहुन बराबर छ । उपचारको अभावमा पशुमात्र नभई स्थानीय जातका कुखुरा वर्षौंपिच्छे धेरै मर्ने गर्छन् तर कार्यालयले चासो देखाउँदैन । कार्यालयसम्म पुग्ने गरेपनि प्राविधिक एक पटकभन्दा दुई पटक आउँदैनन् ।” कार्यालयका प्रमुख डा पानसिंह ठगुन्नाले दरबन्दीको अभावकै कारण प्राविधिक पठाउन नसकिएको र यसका लागि लोकसेवा आयोगमा अनुरोध गर्दै आएको भए पनि सुनुवाइ नभएकाले समस्यामा परेको बताउनुभयो ।   – कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, असार २३, २०७१