शुक्रबार, बैशाख ७, २०८१

करेन्ट तथा विष प्रयोग गरेर माछा मार्ने क्रम रोकिएन

रुकुम, २३ असार । जिल्लाका विभिन्न खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम ह्वात्तै बढेको छ । विशेष गरी विजयश्वरी, कोटजहारी, खोलागाउँ, पिपल, बाँफीकोटलगायत गाविसका विभिन्न खोलामा सोलारको ब्याट्री प्रयोग गरेर समूह मिलेर दिनहुँ माछा मार्न थालिएको हो । सानीभेरी, जहारी खोला, छिनखेत खोला, पुमा खोलालगायतका ठाउँमा जथाभावी करेन्ट लगाउँदा माछासँगै पानीमा बस्ने अन्य जीवसमेतलाई असर परेको भन्दै स्थानीय चिन्तित बनेका छन् । कतिपयले हाकाहाकी करेन्ट प्रयोग गरेर माछा मार्ने गरेका छन् भने कतिपयले भने लुकिचोरी विषको प्रयोग गरेर माछा मार्ने गरेको विजयश्वरी–८ का खर्कु जैसीले जानकारी दिनुभयो ।
करेन्ट तथा विष प्रयोग गरेर माछा मार्दा खोलामा रहेका माछासँगै अन्य जीवको पनि अस्तित्व सङ्कटमा पर्ने भन्दै स्थानीयले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराए पनि कसैको चासो नगएको गुनासो पिपलका भीमार्जुन खत्रीले गर्नुभयो । विष तथा करेन्ट लगाएर माछा मार्दा जालको सहायताले दैनिक रुपमा माछा मारेर जीवन धान्दै आएका बादी समुदायले आफ्नो रोजीरोटी सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । केही वर्ष अघिसम्म दैनिक तीनदेखि पाँच किलोसम्म माछा मार्ने गरेको भए पनि हिजोआज दिनभर जाल खेल्दा पनि मुस्किलले आधा किलो माछा मार्न सकिएको खोलागाउँ–९ का मानबहादुर बादीले बताउनुभयो । माछा मार्न पाउनु सबैको अधिकार हो भन्दैमा अन्य जीवको अस्तित्व नरहने गरी तथा आफूहरूको रोजीरोटी खोसिने गरी माछा मार्ने क्रम रोक्नुपर्ने बादी समुदायको माग छ । अन्य पेसामा संलग्न व्यक्तिहरूले फुर्सदको समयलाई उपयोग गर्दै विष तथा करेन्टको सहायताले माछा मार्ने गरेका छन् । विशेष गरी विजयश्वरी, कोटजहारी, खोलागाउँ, बाँफीकोट, पिपल र पोखरा गाविसमा माछा मारेरै जीविकोपार्जन गर्ने बादी समुदायको बस्ती बाक्लो छ ।     -कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, असार २३, २०७१