बुधबार, बैशाख १९, २०८१

भारतीय गुणस्तरहीन तेल धमाधम बिक्री

परासी, १९ चैत । प्रभावकारी बजार अनुगमन नहुँदा नवलपरासीस्थित विभिन्न बजारमा भारतीय गुणस्तरहीन तेल धमाधम बिक्री भइरहेको छ । अखाद्य पदार्थको प्रयोग गरी पेलिएर बनाइएको विभिन्न भारतीय ब्रान्डका खाने तेल यहाँ स्थानीय बजारहरुमा व्यापारीहरुले निर्धक्क साथ बेचबिखन गरिरहेका छन् । भारतीय प्रतिबन्धित तेलले स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा सरकारले आयातमा प्रतिबन्ध लगाए पनि खुल्ला सिमानाका कारण यस्ता गुणस्तरहीन खाने तेल सीमाको विभिन्न नाकाबाट लुकाई छिपाई बिक्रीका लागि यहाँका बजारहरुमा आउने गरेको छ । विभिन्न किसिमका रसायन तथा ब्रानको मिश्रणबाट निर्मित त्यस्ता खाने तेल हेर्दा र सुँघ्दा तोरीको तेलभन्दा पनि राम्रो जस्तो लाग्ने भए पनि गुणस्तरबारे जानकारी नहुँदा तथा सस्तोमा  पाइने भएकाले उपभोक्ताहरु भारतीय ब्रान्डका तेल प्रयोग गरिरहेका छन् ।
मिसावटयुक्त तेल प्रयोग गर्नाले मुटुलगायत विभिन्न खाले रोग लाग्ने प्रबल सम्भावना रहे तापनि प्रतिबन्धित तेल बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित नियकायले चासो नदेखाएका कारण अखाद्य बस्तु मिश्रित प्रतिबन्धित तेल यहाँका बजारहरुमा खुलेआमा बिक्री वितरण भइरहेको छ । दुई सय ५० ग्रामदेखि पाँच लिटरसम्मको प्लास्टिकको बोतलमा सस्तोमा पाइने भारतीय अखाद्य तेलप्रति उपभोक्ताहरुको आकर्षणसमेत भएको छ । भारतीय गुणस्तरहीन खाने तेलभन्दा नेपालमा उत्पादित खाने तेल महँगो भएको हुँदा उपभोक्ताहरु भारतीय ब्रान्डका बैलकोल्हु, चक्र लगायतका तेल प्रयोग गर्न थालेपछि नेपालमा उत्पादित खाने तेल बिक्री गर्ने व्यापारीहरु मर्कामा परेका यहाँका एक व्यापारीले बताएका छन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७०