शुक्रबार, बैशाख २१, २०८१

आम्दानीको स्रोत बन्दै रायो साग खेती

दोलखा । भीमेश्वर नगरपालिका–७ मकैवारिका किसानहरूले गरेको बेमौसमी रायो साग खेतीबाट करोडौँ आम्दानी गर्न सफल भएका छन् । अरू तरकारीभन्दा बेमौसमी रायो साग खेतीमा करोडौँको आम्दानी भएकाले किसान यसप्रति बढी आकर्षित भएका केबी अर्ग्यानिक कृषि फार्मका सञ्चालक कृष्ण तामाङले बताए ।

उनका अनुसार उनले मात्रै साढे छ रोपनीमा साग मात्र लगाएका छन्। उनले भने, बेमौसमको रायोको साग प्रतिकिलो ६० रुपियाँमा बिक्री हुने गरेको छ । करिब तीन महिनाको अवधिमा सागबाट मात्र ५ लाख रुपियाँको बिक्री भएको छ । बेमौसमीको भएकाले महँगोमा बिक्री हुन्छ । काउलीबाट छ लाख र गाँजरबाट ५५ हजार रुपियाँ आम्दानी भएको छ ।

साग पाँच पटकसम्म टिप्न सकिन्छ । पहिलो पटक पाँच सय किलो र प्रत्येक पटक करिब सय किलो जति घट्दै जान्छ । उनले भने, अरू तरकारीभन्दा सागमै किसान बढी आकर्षित भएका छन् । वैशाखमा साग बिक्री भइसक्छ । अनि आलु खेती हुन्छ । यसबाट पनि राम्रै आम्दानी हुन्छ । साग उत्पादनमा पनि खासै झन्झट छैन । बजारको पनि समस्या छैन । कालीमाटी लगिन्छ । घरघरमै लिन आउँछन् । दिनमा पाँच÷छ ट्रक साग कालीमाटी जाने गरेको छ ।

यो बस्तीबाट वैदेशिक रोजगारीमा जाँदैनन् । उनले भने, मेरैमा मात्र पाँच जना मजदुर नियमित र आंशिकमा ९० जना खट्छन् । गाउँमा दुई सय घरधुरीले रायोको सागको व्यापार गर्छन् । सागैसागको हरियाली हुन्छ । पुरानो नाम मकैवारिबाट गाउँ तरकारीवारिमा परिणत भइसकेको छ ।

उनी विद्यालयको पढाइ सकेर काठमाडौँ पढ्न जानु भयो । पढ्न छोडेर मजदुरी गर्न लाग्नु भयो । उनले भने, १० वर्ष काठमाडौँले मजदुरीले खासै उँभो नलागेपछि गाउँ फर्किएको हुँ । अहिले बरु तरकारी खेतीबाट तीन वर्षमै घर खर्च कटाएर साढे दुई रोपनी जग्गा खरिद र घर निर्माण गर्न सफल भएको छु ।

तरकारी खेती सुरु गर्दा गाउँकै महँगै ऋण पनि पाइएन । उनेले भने, सदरमुकाम स्थितको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाबाट ६० हजार रुपियाँ ऋण लिएर तरकारी खेती गरेको हुँ । अहिले तिर्दै लिँदै गर्दा २० लाख रुपियाँ ऋण रहेको छ । सहकारीले उँभो लगाएको हो । अन्यत्रबाट ऋण लिन परेको छैन ।

प्रकाशित मिति: शनिबार, बैशाख ८, २०८१