शुक्रबार, बैशाख २८, २०८१

किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै

ढोरपाटन । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे ।
गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो । तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन् । बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन । हिजोआज यो सुविधा गाउँगाउँसम्म पनि पुगेको छ । आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए ।

ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । पहिले पाँच÷सात हल गोरु पालेरै जीविका चलाउँदै आएका किसानले पनि अहिले पाल्न छोडेका छन् । गाउँगाउँमा खेतबारी जोत्ने उपकरण पुगेपछि हल गोरु विस्थापित हुँदै गएका हुन् । बागलुङको ताराखोला, तमानखोला, ढोरपाटन र निसीखोलामा बढी पशुपालन गरिन्थ्यो । एकै परिवारले १० हलसम्म गोरु पाल्ने गरेकामा अहिले एक हल पनि पाल्दैनन् । खेतबारीको कामका लागि अर्मपर्म गर्ने चलन पनि अहिले हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगमा आएको छ । गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिदिन्छ ।

कतिपय किसानले गोरु खोजेरै खनजोत गर्ने गर्छन् । मिनीटेलर हलो गोरु जति उपयोगी नभएको किसान बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने स्थानीय मीनबहादुर क्षेत्रीले बताए। गोरुको जस्तो जोताइ मिनीटेलर हलोले नहुने उनको भनाइ छ । पहिले गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गरेको उल्लेख गर्दै अचेल गाउँभरिमा हल गोरु पाउन मुस्किल हुने क्षेत्री बताउछन् । आफूले दुई वर्षसम्म मिनीटेलरले जोतेर धान, मकै र गहुँ लगाएको सुनाउँदै पहिलेको तुलनामा झण्डै आधा घटेको बताए।

“नयाँ–नयाँ प्रविधिको विकास हुनु राम्रो हो, तर पुरानो परम्परालाई छोडेर सबै नयाँ अँगाल्नु पनि हुँदैन, गोरु र मिनी टेलरले जोतेको बारी धेरै फरक हुन्छ, मिनी टेलरले खासै माटो उप्काउँदैन, गोरुले जोत्दा गहिरो गरी जोतिन्छ,” क्षेत्रीले भने, “केही समय मैले पनि मिनी टेलरले जोते, अहिले त बाली लगाउन गोरु खोजेरै जोत्ने गरेको छु, तरकारी र फलफूल लगाउन आधुनिक हलो प्रयोग गर्ने गरेको छु, पहिलेजस्तो गोरु पनि पाइन छाडे, गोरु खोज्न पनि लेकतिर जानुपर्ने अवस्था आएको छ ।”रासस/कृषि सा.

प्रकाशित मिति: मङ्लबार, मंसिर ५, २०८०