शनिबार, बैशाख २२, २०८१

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

वालिङ । स्याङ्जाको वालिङ ८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ। सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिक रूपमा गँड्यौलापालन थालेको हो।

सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताए।

वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल व्यावसायिक रूपमा उत्पादन गर्न थालिएको उनले बताए।

‘गाउँगाउँमा किसानलाई निःशुल्क गँड्यौलाका साथै गँड्यौला पाल्न आवश्यक सामग्रीहरू उपलब्ध गराउँदै आएका छौं’, अध्यक्ष गुरुङले भने, ‘तालिमपछि सिकेको सीपलाई सदुपयोग गर्दै अहिले गाउँगाउँमा गँड्यौलापालन भइरहेको छ।’

सहकारीले प्लान्टबाट उत्पादन भएको गँड्यौला र मल दैनिक स्थानीय कृषि हाटबजारमा बिक्री गर्दै आइरहेको छ। सहकारीले आफूले उत्पादन गरेको मलका साथै किसानले उत्पादन गरेको गँड्यौलाको मल खरिद गर्ने र प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको उनले बताए। गुरुङका अनुसार सहकारीमार्फत किसानलाई निःशुल्क गँड्यौला, गँड्यौला पाल्ने भाँडो तथा आवश्यक तालिम दिएपछि व्यावसायिक गँड्यौलापालनतर्फ किसानको आकर्षण बढेको हो।

सहकारीले किसानसँग प्रतिकेजी २० रुपैयाँमा खरिद गरेर प्रशोधन गरी प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरिरहेको सहकारीका उपाध्यक्ष एवं गँड्यौला मल प्रवर्द्धन कार्यक्रमका संयोजक नेत्रप्रसाद सुवेदीले बताए।

जैविक मलको तुलनामा बिरुवालाई हुर्कन, बढ्न र आफ्नो जीवनचक्र पूरा गर्न नभई नहुने १६ किसिमका तत्व यस मलमा पाइने उनले दाबी गरे। नगरपालिकाले २० लाख र सहकारीले १० लाख रुपैयाँ लगानी गरी गँड्यौला पाल्न प्लान्ट निर्माण गरिएको सुवेदीले बताए।

‘सुरुका दिनमा नयाँ भएकाले पनि केही किसानले मात्र गँड्यौलापालन गरे’, उनले भने, ‘अहिले प्लान्ट स्थापना गरी ठूलो परिमाणमा गँड्यौला तथा मल उत्पादन गरेसँगै अन्य किसान पनि आकर्षित हुँदै जानुभएको छ।’ उनका अनुसार प्लान्टबारे बुझ्न तथा अवलोकन गर्न धेरै सङ्घसंस्था तथा व्यक्तिहरू आउने गरेका छन्।

गँड्यौलाको मललाई रासायनिक मलको विकल्पका रूपमा प्रयोग गर्न थालिएकाले बजारमा यसको माग अत्यधिक रहेको सहकारीले जनाएको छ। किसानले उत्पादन गरेको मल सहकारीमार्फत नै बिक्री हुने गरेकाले बजारीकरणको समस्या नभएको किसानहरू बताउँछन्।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो संस्थाको आर्थिक सहयोग तथा सहकारीद्वारा सञ्चालित ‘हरित पुनः उत्थान प्रवर्द्धन परियोजना’अन्तर्गत वालिङका १४ वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको सहकारीका प्रबन्धक खेमराज लामिछानेले बताए।

खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरूत्साहित गर्दै लगिने भन्दै सहकारीले गँड्यौलाको मल प्रवर्द्धनात्मक अभियानसँगै रैथाने बाली संरक्षणका लागि काम गर्दै आएको उनले बताए। रासस

प्रकाशित मिति: सोमवार, अशोज २९, २०८०