शनिबार, बैशाख १५, २०८१

दाङमा धानमा देखापर्‍यो ‘कालो पोके’ रोग,उत्पादन घट्ने भएपछि किसान चिन्तित

तुलसीपुर । दाङका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् ।

‘धानमा कालो पोके रोगले सताएको छ । फलेका गेडामा कालो पोके लागेको छ’, दङ्गीशरण(४ का थम्मनबहादुर रेउलेले भने, ‘यो वर्ष उत्पादन घट्ने भयो ।’ यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उनको भनाइ थियो ।

‘यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्‍यो’, स्थानीय जयलाल वलीले भने, ‘धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।’ बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका उनको भनाइ थियो ।

कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताए । किसानलाई एग्रोभेटबाट हाइब्रिट बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उनीहरुले हाइब्रिट बीउले धेरै उत्पादन दिन्छ भनेर लगाएको उनले बताए । आगामी वर्ष हाइब्रिट बीउ नलिने र लिए पनि उपचार गरे नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उनको भनाइ थियो ।

‘हाइब्रिट जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ । त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ’, डाँगीले भने, ‘नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन् ।’

उनका अनुसार जिल्लामा फड्के कीराले पनि धान बालीमा असर गरेको छ । दङ्गीशरणमा मात्रै दुई हजार छ सय ३१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २४, २०८०