बुधबार, बैशाख १९, २०८१

व्यावसायिक रुपमा उत्पादन गरिएको भिण्डीले बजार नपाएपछि किसान समस्यामा

पाल्पा । व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए ।

पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा करिब १२ रोपनी जग्गा भाडामा लिएर स्थानीय गङ्गाप्रसाद बस्याल, राधिका बस्याल र सिर्जना आचार्यले सामूहिकरूपमा भिण्डीखेती गरेका थिए । अहिले उत्पादित भिण्डीले बजार नपाएकोे गङ्गाप्रसादले बताए ।

“रामपुरको बजारलाई मध्यनजर गर्दै व्यावसायिक रामतोरियाँ खेती सामूहिकरूपमा सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा टिपेर त्यसै फाल्नुपरेको छ”, उनले बताएका छन् ।

हाल दैनिक न्यूनतम ५० किलोदेखि बढीमा एक सय ५० किलोसम्म भिण्डी उत्पादन भइरहेको उनले बताए । स्थानीय बजारमा बिक्री नभएपछि स्याङ्जाको वालिङ बजारमा सस्तो मूल्यमा ढुवानी खर्चेर पठाउन बाध्य भएको आचार्य बताउछन् ।

 

प्रकाशित मिति: आइतवार, अशोज १४, २०८०