सोमवार, बैशाख २४, २०८१

सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ ।
जिल्लामा ९ स्थानीय तहमध्ये ८ वटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ । कार्पस भाइरसको सङ्क्रमणबाट हालसम्म ४२ पशु मरिसकेका छन् । कमलामाई नगरपालिका, दुधौली नगपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पशुमा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ ।
हालसम्म सुनकोसी गाउँपालिकामा भने कार्पस भाइरसको सङ्क्रमण देखा नपरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाले जानकारी दिए ।  सबैभन्दा बढी यस रोगको सङ्क्रमण तीनपाटन गाउँपालिकामा छ । रोगको सङ्क्रमण हुने र मर्नेको सङ्ख्या तीनपाटन गाउँपालिकामा अत्यधिक छ । तीनपाटनमा हालसम्म २३ गाई मरेका छन् । दुई हजार ३ सय ३६ पशु सङ्क्रमित बनेका छन् । विशेषगरी गाईमा यो रोगको सङ्क्रमण बढी देखिएको थापाले जानकारी दिए । रोगका कारण आठ हजार दुई सय ६२ पशु बिरामी भएका छन् ।
कमलामाईमा १ हजार ९ सय ८३ पशु कार्पस भाइरसबाट सङ्क्रमित छन् भने सातवटा मरेका छन् । दुधौलीमा दुई हजार एक सय ४९ पशु सङ्क्रमित छन् । मरिणमा सङ्क्रमित १ हजार ३६ र दुई पशु मरेका छन् । फिक्कलमा एक सय ६० पशुमा सङ्क्रमण छ भने एउटा मरेको थापाले  जानकारी दिए । गोलञ्जोरमा ३ सय ३५ पशुमा सङ्क्रमण र ९ वटा पशुको मृत्यु भएको छ ।  हरिहरपुरगढीमा २ सय १६ पशुमा सङ्क्रमण र एकको मृत्यु भएको छ । यस्तै घ्याङलेखमा ४७ पशुमा सङ्क्रमण देखिएको छ ।
यो रोगका कारण साना बाच्छाबाच्छी र कमजोर खालका गाई बढी मर्ने गरेको थापाले बताए । उनले भने, “रोग प्रतिरक्षा शक्ति कमजोर भएका गाईमा रोगको जोखिम बढी भएको पाइएको छ ।” रोग लाग्न नदिन रोग नलागेका गाईलाई रोगविरुद्धको खोप लगाउन सकिने थापाले बताए ।
प्रकाशित मिति: मङ्लबार, जेष्ठ २, २०८०