शुक्रबार, बैशाख १४, २०८१

धूलो दूध आयातको खेल शुरु, डेरी उद्योगीको फन्दामा मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसाल डेरी उद्योगीहरुको फन्दामा परेका छन् । नेपाली किसानहरुले उत्पादन गरेको दूधलाई पूर्ण रुपमा वेवास्ता गर्ने, तोकिएको मूल्य नदिने अनि भारतबाट धूलो दूध आयात गरी प्रशस्त मुनाफा आर्जन गर्ने सोच लिएका डेरी उद्योगीका कारण मन्त्री बेदुराम भूसाल फन्दामा पर्न लागेका हुन् ।

नेपालमा दूधको उत्पादन प्रशस्त भएको बेलामा समेत डेरी उद्योगीहरुले भारतबाट धूलो दूध आयात गरी झोल बनाएर उपभोक्तासम्म पु¥याउने गरेका थिए । छिटो नाफा गर्नका लागि नेपालमा उत्पादन गरिएको दूध भन्दा भारतले उत्पादन गरेको दूध नै सहज भएकाले व्यापारीहरुले अहिले जसरी हुन्छ धूलो दूध ल्याउने तयारीमा जुटेका छन् ।

पूर्व कृषि मन्त्री चक्रपाणाी खनालको पालामा भारतबाट धूलो दूध आयात गर्नका लागि रोकेको थिए । त्यसबेला भारतबाट धूलो दूध आयात गर्न रोकेकै कारण मन्त्री चक्रपाणी खनालले मन्त्री पदबाट बाहिरिनु परेको थियो । तर, अहिले फेरि धूलो दूधको खेल शुरु भएको छ । धूलो दूध आयात गर्नका स्वीकृतिका लागि राष्ट्रिय दुग्ध विकास बोर्डको वैठकले कृषि मन्त्रालाई पेश गरिसकेको छ । बोर्डमा सदस्य रहेको डेरी उद्योगका साहुहरुले बोर्डका कार्यकारी निर्देशकलाई आफनो प्रभावमा पारेर धूलो दूध आयात गर्ने व्यवस्था मिलाउनका लागि सेटिङ्ग गरेका हुन् ।

धूलो दूध आयात गर्नका लागि बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवलाई डेरी एशोसिएसन नेपालका अध्यक्ष प्रल्हाद दाहालले सेटिङ्ग मिलाएका हुन् । यादव र दाहाल दुवै एमाले निकट मानिन्छन् । यस अघि चक्रपाणी खनालले धूलो दूध आयात प्रतिवन्ध गरेपछि उनको विरुद्ध त्यसबेलाका डेरी एशोसिएसनका अध्यक्ष सुमित केडियो खुलेरै लागेका थिए । उनलाई त्यस बेला डेरी एशोसिएसनका महासचिव रहेका प्रल्हाद दाहालले लाईन मिलाउने कार्य गरेको थिए ।

राजनीतिक दलहरुसँग नजिक सम्वन्ध राख्ने, चाँडै फाइदा लिन सक्ने चुतर डेरी उद्यमीका रुपमा दाहाल चिनिन्छन् । डेरी एशोसिएसन नेपालको अध्यक्षमा सीताराम डेरीका साहु सुमित केडिया हुँदा चितवन मिल्क वन्द गराउनु पर्दछ भन्ने लविङ्गमा लागेका थिए । त्यसबेला कृषि मन्त्री हरिप्रसाद पराजुली थिए । जसले मिल्क होलिडेका नाममा किसानहरुले सडकमा दुध पोख्ने अवस्था आउन नदिनका लागि चितवन मिल्कलाई किसान, दुग्ध सहकारी र सरकारी संस्थाले सञ्चालन गर्ने गरी खरिद प्रक्रिया समेत अघि बढेको थियो । तर, त्यसबेला सुमित केडिया कै पहलमा सो प्रक्रिया तुहिएको थियो ।

त्यसबेला चितवन मिल्क वन्द अवस्थामा थियो भने मिल्क होलिडे भएको भन्दै किसानहरुले सडकमा दूध फालिरहेको थिए । देशमा मिल्क होलिडे हुन नदिने धूलो दूध उत्पादन गर्ने चितवन मिल्कलाई जसरी हुन्छ सञ्चालनमा ल्याउने पक्षमा तात्कालिन मन्त्री पराजुली लागेका थिए । किसानका पक्षमा उभिँदा उभिँदै असार १५ को धान दिवसले उनको मन्त्री पद नै गएको थियो ।
उनै पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीले वर्तमान सरकारले धूलो दूलो दूध आयात गर्न दिन लागेको सुन्नमा आएकाले आफूहरुको त्यसको विरोधमा उत्रिने बताए । भारतबाट दूध ल्याउँदा सस्तो पर्ने तर नेपाली किसानहरुले उत्पादन गर्ने दूध महंगो पर्ने भएकाले व्यापारीहरुले नेपालको दूध खरिद गर्नु भन्दा भारतबाट नै ल्याउन जोड गरिरहेको पराजुलीले बताए ।

‘धनगढी, कोहलपुरमा उत्पादन भएको दूध संकलन गर्ने कार्यमा डेरी उद्योगीहरुले चासो दिएका छैनन् । तर भारतबाट दूध दूध खरिद गर्नका लागि आतुर देखिएका छन् । नेपाली किसानहरुलाई दूधको रकम अहिलेसम्म नदिने अनि दूध अभाव भयो भन्दै भारतबाट दूध ल्याउन खोज्नु सरासर गलत हो ।’ पूर्व कृषि मन्त्री पराजुलीको भनाई छ ।

त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डका निवर्तमान कार्यकारी निर्देशक बाबुकाजी पन्तले अहिले भारतबाट धूलो दूध आयात गर्न नपर्ने बताउँछन् । ‘नेपालमा नै दूधको उत्पादन बढ्न थालिसकेको छ । यो अवस्थामा भारतबाट दूध किन किन्ने ?’ उनको प्रश्न छ । ‘माघ फागुन महिनामा दूधको अभाव हुने संकेत थियो तर त्यसबेला पुग अपुग चल्यो । अहिले दूग्ध उत्पादक सहकारीहरुले प्रशस्त दूध उत्पादन गरिरहेकाले दूध आयात खोल्नु नेपाली किसानहरुका लागि घातक हुन्छ’ पन्तको भनाई छ । उनी भन्छन्, ‘अहिले दूध उत्पादन बढ्न बढिरहेको छ । यही अवस्था रहने हो भने साउनमा मिल्क होलिडे हुन सक्छ ।

प्रकाशित मिति: शनिबार, बैशाख २३, २०८०