बिहिबार, बैशाख २०, २०८१

बाख्रापालनको व्यावसायीकरणमा जोड

काठमाडौँ । बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ ।

पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक÷एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङीले बताए । रासस
“बाख्रापालनको राम्रो सम्भावना बोकेको निस्दीमा हिजोआज व्यावसायिक बाख्रापालनमा किसानले जोड दिएकाले बाख्रापालनलाई विभिन्न सहयोगका कार्यक्रममा जोड दिइएको छ”, उनले भने । पकेट कार्यक्रममा यहाँका एक सय ३४ घरपरिवार सहभागी छन् ।

परियोजनाको सहयोगमा ५५ जनालाई माउ बाख्रा र अन्य किसानलाई तालिम, आवश्यकताका आधारमा औषधि, घाँसको बीउ लगायतका सामग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा पालिकाबाट विनियोजित रु पन्ध्र लाख र केन्द्र सरकारको करिब १ लाख सहयोगमा माउ तथा बोका, विभिन्न मेसिनरी सामग्री किसानलाई उपलब्ध गराइएको छ ।

निस्दीका वडा नं ४ र ५ मा दुई बाख्रा पकेट क्षेत्र छन् । बाख्रापालनलाई व्यावसायीकरण गर्न बाख्रा सहयोग, खोर सुधार लगायतका कार्यक्रममा पालिकाले सहयोग गरिरहेको हुँदा पछिल्लो समय यहाँका स्थानीयले बाख्रापालनबाट आम्दानीको स्रोत बढाउँदै गएको पालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताए ।

बाख्रापालनबाट यहाँका किसान आत्मनिर्भर बन्दै गएका छन् । प्रशस्त चरन र घाँस भएकाले किसानले व्यावसायिक बाख्रापालन गरेर मनग्य आम्दानी लिन थालेका छन् । रासस

प्रकाशित मिति: आइतवार, बैशाख १०, २०८०