शनिबार, बैशाख १५, २०८१

आत्मनिर्भरताका लागि कृषि कार्यक्रमको ८.५ अर्व बजेट अर्थमन्त्रीले रोके

काठमाडौं । यस अघि प्रधानमन्त्री केपी शर्मा ओली हुँदा अर्थमन्त्री थिए वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल । प्रधानमन्त्री ओलीको एउटै सन्देश थियो मुलुकलाई कृषिमा पाँच वर्षभित्र आत्मनिर्भर बनाउने । नेपाली कृषि क्षेत्रलाई वास्तविक रुपमा नै उत्पादनमुखी बनाउने र व्यवसायीकरण तर्फ उन्मूख भई आत्मनिर्भरतालाई जोड दिएका तात्कालिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालनमा ल्याए ।

ओलीको पालामा शुरु भएको १ खर्व ३० अर्व ७४ करोड २० लाख रुपैयाँको आयोजनाले करीव ६ वर्ष कटाईसकेको छ । बार्षिक करीव १० अर्व खर्च गर्ने गरी ल्याएको सो आयोजनाले मूर्त रुप लिन सकेको छैन ।

सो आयोजना केवल कार्यकर्ता तथा निकट संघसंस्थाहरुलाई पोस्ने काम मात्र भईरहको आरोप लागिरहेको बेला पाटी अध्यक्ष समेत रहेका ओलीको मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना सहित प्रदेश तथा स्थानीय तहका पठाइएको रकम अहिले अर्थमन्त्री विष्णुप्रसाद पोडेलले रोक्का गरिदिएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमको शि. नं ३१२००१०१ बाट प्रदेश तथा स्थानीय स्तरमा सञ्चालित आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रममा सशर्त अनुदानका रुपमा वित्तिय हस्तान्तरण भएको ८ अर्व ४५ करोड ७० लाख २०७९ माघ २५ गते मन्त्रीस्तरको निर्णयबाट रोक्का गरिएको पत्र अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

सो रकम रोक्का भएपछि ७ सय ७३ पालिका तथा ७ वटै प्रदेशमा सशर्त रुपमा पठाएको रकम कृषि उत्पादनमा लगाउन नपाइने भएको छ । अर्थमन्त्री पौडेलेको यस किमिसको रोक्का गर्ने निर्णयले कृषि उत्पादनमा ठूलो धक्का त लाग्ने मात्र होइन सरकारको मुलुकलाई कृषिमा आत्मनिर्भर बनायने योजना पनि तुहिने संकेत देखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ९, २०७९