शुक्रबार, बैशाख १४, २०८१

सर्वोच्च अदालतमा रिटका बाबजुत कृषि विभागका महानिर्देशक बने वन मन्त्रालयको कामु सचिव, फुलगेन बन्ने संकेत

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदका लागि सरकारले कृषि विभागका महानिर्देशक डा रेवतीरमण पौडेललाई कायम मुकाय सचिवका रुपमा नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव पेम कँडेलको उमेर हदका कारण अवकाश भए पनि सचिव पद रिक्त रहेको थियो ।

वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदका लागि लोक सेवा आयोगको बढुवा सिफारिस समितिले कृषि सेवा तर्फका सहसचिव रेवतीरमण पौडेल, राजेन्द्र मिश्र र वन सेवा तर्फ यपप्रसाद पोखरेलको नाम सिफारिस गरेको थियो ।

लोक सेवा आयोगले कृषि वन समूह तर्फ रिक्त सचिव पदका लागि आफूभन्दा कनिष्ट रहेका राजेन्द्र मिश्रलाई सिफारिस गरेको भन्दै कृषि सेवा तर्फकी सहसचिव सवनम सिवाकोटीले सर्वोच्चमा रीट दर्ता गरेकी थिईन् ।

सिवाकोटीले आफू मिश्रभन्दा एक दिन अघि सहसचिव भएको दावी गर्दै आईरहेकी छिन् भने मिश्रले दुवैजना एकै दिनको भएको बताएका छन् । सिवाकोटीले दर्ता गराएको रिटको टुङ्गो अझै लाग्न सकेको छैन ।

अदालतमा परेको रीटको टुङ्गो लाग्ने संकेत नदेखिएपछि सरकारले हतार हतार नै कृषि विभागमा महानिर्देशकका रुपमा कार्यरत सहसचिव रेवतीरमण पौडेललाई कायममुकायम सचिवका रुपमा जिम्मेवारी सुम्पेको हो ।

कायममुकायम सचिवका रुपमा काम गर्ने जिम्मेवारी पाएका पौडेलको अवकाश प्राप्त गर्न थोरै समय रहेको मन्त्रालय श्रोतको दावी छ । यस अघि कृषि सेवा तर्फकै सहसचिव फुलगेन प्रधानलाई पनि कायममुकायम सचिवका रुपमा पदोन्नती गरेपनि लामो समय पूर्ण रुपमा सचिव नबनाएर कामु सचिवकै रुपमा अवकाश हुन वाध्य बनाएको थियो ।

अहिलेको निर्णय र अदालतको विचाराधिन मुद्दाका कारण पौडेले पनि फुलगेन बन्ने त होइन भन्ने आशंका पैदा भएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ १९, २०७९