शनिबार, बैशाख १५, २०८१

भारत भ्रमण फापेन कृषि मन्त्री यादवलाई, मृगेन्द्रको चौका हान्ने सुर

काठमाडौं । । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई भारत भ्रमण फापेन । रासायनिक मल जिटुजी प्रक्रियाबाट आयात गर्नका लागि सम्झौता भएर पनि मल आयात गर्न नसकेपछि दिल्ली पुगेका मन्त्री यादव रित्तै फर्कनु पर्यो । मन्त्री पदमा बसेको महिना दिन नपुग्दै उनलाई हटाउन जसपाका नेता मृगेन्द्रकुमार सिंह लागेका थिए । तर विभिन्न बहाना बनाउँदै यादव टिक्न सफल भएका थिए ।

मुलुकमा मल अभाव भईरहेकाले जिटुजी मार्फत मल आयात गरी मलको समस्या समाधान गरेपछि बरु मन्त्री पदबाट हट्न तयार रहेको पार्टी अध्यक्षलाई बुझाउन सफल भएपछि उनी मन्त्री पदमा रहन सफल भएका थिए । तर मन्त्री यादवले न त मल ल्याउन सके, नत त्यसको विकल्प दिन सके । बरु मन्त्रालयमा बस्दा उनका आसेपासेहरुबाटै पटक पटक विवादमा आईनै रहे ।
जिटुजी मार्फत मल ल्याउँदा पनि अनियमिता हुन सक्ने र भारतले कम्पनी मार्फत मल पठाउने भएकाले समस्या हुने देखिएपनि नेपालमा भईरहेको रासायनिक मलको चरम अभावलाई पूर्ति गर्नका लागि सरकारले जिटुजी मार्फत भारत सरकारसँग मल किन्ने सहमति गराउन उनी सफल भएका थिए ।

प्रधानमन्त्री स्तरबाट नै मल लिने दिने विषयमा छलफल भएपश्चात दुई देशका कृषि मन्त्रीको रोहवरमा सचिवहरुले हस्ताक्षर गरी आदान प्रदान पनि गरे । भारत सरकार र नेपाल सरकारवीच भएको मल खरिद प्रक्रिया भने अझै टुङ्गो लागेको छैन । भन्नुको अर्थ भारतले दिन्छु भनेको छ तर दिएको छैन ।

नेपाली किसानहरुलाई धान रोप्ने चटारो बढिरहेका बेला जिटुजी मार्फत मल ल्याउने विषयमा छलफल गर्नका लागि कृषि मन्त्री महिन्द्र राय यादव दिल्ली पुगे । दुई चार दिन घुमे भेटघाट गरे र रित्तै हात फर्किए ।

कृषि मन्त्री नै मल खरिद गर्न दिल्ली पुग्दा पनि किन रित्तै फर्किए त धेरैको प्रश्न थियो । किसानहरुलाई यो वर्ष मल अभाव हुन दिन्न भनेर बाचा गरेका मन्त्री यादवले करिव ९ महिना शासन चलाईरहँदा उनले मलको विषयमा कति छलफल गरे वा गरेनन् त्यो मन्त्री, सचिव तथा मलका ठेकेदारहरुलाई मात्र थाहा होला । मन्त्री निवास पुल्चोकमा मल आयात गर्ने ठेकेदारहरु पटक पटक गए । मन्त्री यादवलाई कतिले जिटुटी मार्फत मल ल्याउनु हुन्न भन्ने सल्लाह दिए त कतिले जिटुजी मार्फत मल ल्याउनदा त्यहाँ भित्रको खेल जनताले थाहा नपाउने भएकाले जिटुजी मार्फत नै मल आयात गर्नु पर्ने सुझाव पनि दिए ।

जिटुजी मार्फत मल ल्याउन सके चलन चल्तीको रकममा खरिद गर्न सकिने भएकाले त्यसमा बोलकबोल नहुने हुँदा मन्त्रीको भागमा राम्रै हिस्सा पर्ने केही ठेकेदारहरुले बताएका थिए ।

पुल्चोक मन्त्री निवासमा नै भएको छलफलबाट निकै उत्साहित भएका कृषि मन्त्री यादव सरकारले जिटुजी मार्फत मल ल्याउनका लागि स्वीकृत दिएको र सम्झौता समेत भईसकेको अवस्थामा मल ल्याउन सकिन्छ भन्नेमा ढुक्क थिए ।
तर, कृषि मन्त्री यादव हिस्स बुढी खिस्स दाँत भने जस्तै भए । जव जिटुजी मार्फत मल खरिद गर्नका लागि दुई देशवीच भएको सम्झौता अनुरुप मल आयात गर्नका लागि दिल्ली पुगेका कृषि मन्त्रीलाई भारत सरकारका प्रतिनिधिहरुले तत्काल मल दिन नसक्ने भएपछि उनी भिजेको विरालो झै नेपाल फर्किए ।

नेपाल फर्किए लगतै गठवन्धन सरकारमा मन्त्री फेरवदलको शुरुवात भईसकेको छ । काम गर्न नसक्ने मन्त्रीहरुलाई दलहरुले फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने कामको शुरुवात भईसकेको छ नेकपा एकीकृत समाजवादीबाट शुरु भएको मन्त्री फिर्ता बोलाउने कार्यमा मन्त्री यादवको जनता समाजवादी पार्टीले पनि उनलाई फिर्ता बोलाउने अन्तिम तयारीमा जुटेको छ । कृषि योग्य भूमिका रुपमा रहेको तराईका २२ जिल्ला अनि तराई कै कृषि मन्त्री हुँदा पनि मल अभाव खेप्नु परेपछि उनलाई फिर्ता बोलाउने तयारी गर्न लागेको जसपा निकट श्रोतले बतायो ।

अहिले भने उनका सहकर्मी मित्रले आठ महिना अगाडि शुरु गरेको खेल पूरा हुने भएको छ । जसपाले अव महिन्द्र राय यादवलाई फिर्ता बोलाउने वातावरण सम्भावित कृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादवले गरिरहेका छन् । साम, दाम, दण्ड भेद सवै प्रयाग गर्न सक्ने भएकाले पनि उनलाई (मृगेन्द्र सिंह)पार्टीले अव कृषि मन्त्रीमा लैजाने तयारी गरिरहेको छ । नौ महिना अघि महिन्द्र राय यादव बनाउने बेलामा नै कृषि मन्त्री बन्न खोजेका मृगेन्द्र सम्भवत नयाँ कृषि मन्त्रीका रुपमा देखिने सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: सोमवार, असार २०, २०७९