शनिबार, बैशाख १५, २०८१

चिया तथा कफी विकास बोर्डका पूर्व कार्यकारी निर्देशक गौतमलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पूर्व कार्यकारी निर्देशक शेषकान्त गौतम लगायत चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बोर्डले २०७२ सालमा विभिन्न पदमा गरेको पदपूर्तिका लागि कृषि प्राविधिक र लेखा पालमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई वदनियत पूर्व ढंगले पदको दुरुपयोग गर्दै नियुक्ति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतम सहित दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंक प्रसाद ओलीलाई समेत भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको, दरखास्त स्वीकृत गर्ने कर्मचारीहरुले प्रचलित कर्मचारी सेवा सम्बन्धी विनियमाली, २०६५ को अनुसूची–३ तथा २०७२ असोज २ गतेको सूचनामा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकहरुको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरी गराई भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २६, २०७९