शनिबार, बैशाख १५, २०८१

दुईदिनदेखि परेको अविरल वर्षाका कारण जुम्लामा करोडौंको कृषि उपज नष्ट

जुम्ला । दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौँको क्षति भएको छ । बाढीले जुम्लाका आठ स्थानीय तहमध्ये तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका–४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा ठूलो क्षति भएको छ ।

क्षतिग्रस्त स्थल तिला गाउँपालिका– ४ मा जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, प्रहरी नायब उपरीक्षक दानबहादुर थापासहित प्रहरी टोली पुगेर फर्केको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार क्षतिग्रस्त स्थानमा १८ हेक्टर (३६० रोपनी) धानबाली, १२ वटा स्याउ बगैँचामा पनि क्षति पुगेको बताए । धानबालीसहित विद्यालय, काठ चिर्ने, धान कुट्ने मिल, सडक, पूर्वाधारलगायतमा क्षति पुगेको उनँले बताए ।

“भारी वर्षाका कारण आएको बाढीले हिमा गाउँपालिका–६ बागबजारकी ३२ रत्ना शाहीलाई बेपत्ता बनाएको छ”, प्रजिअ प्रसाईंले भने, “उनको खोजीकार्य जारी रहेको छ ।” उनँका अनुसार बाढीले जिल्लाभरि के–कति क्षति भएको छ भन्ने पूर्ण विवरण ल्याउन क्षतिग्रस्त स्थलमा प्राविधिक टोली पठाइएको र यही ५ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले त्यसको सार्वजनिक गर्नेछ ।

यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले तिला–४ जुम्लामा बाढीले सबैभन्दा बढी १३ हेक्टर कालीमार्सी, पाँच हेक्टर उन्नत जातको धानमा क्षति पुगेको जानकारी दिए ।

उनका अनुसार गिडी खोला किनारका रहेका धानका खेती बाढीले लगेको छ । तिला गाउँपालिका– ३ जुम्ला पहाडा लुम्सेराका स्थानीय विष्णुऋषि भट्टराईले धानखेती बाढीले पुरिएको दुखेसो पोखे ।

धान भण्डारण गर्ने तयारीमा रहेका यहाँका किसान बाढीले सबै खेती विनाश गर्दिएपछि अहिले पुर्पुरामा हात लगाउनुपरेको छ । बाढीले धानखेती नष्ट मात्र गरेको छैन उर्वर खेत बगरमा परिणत गरिदिएको छ । तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले क्षतिग्रस्त क्षेत्रका प्रभावित नागरिकलाई हाल खानेपानी व्यवस्थापन गर्ने तयारी थालिएको बताए । केकति क्षति भएको छ भनेर आजै स्थलगत अवलोकन गरिएको जनाउँदै अध्यक्ष योगीले गाउँ सरकारले बाढीबाट भएको क्षतिको यकीन विवरण सङ्कलन गर्ने र तत्काल राहतका लागि काम अगाडि बढाउने जनाए ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २, २०७८