शनिबार, बैशाख १५, २०८१

लकडाउनको प्रत्यक्ष प्रभाव कृषि उत्पादन र बजारीकरणमा

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि प्रभाव पर्न थालेको छ । संक्रमण फैलिन नदिनका लागि सरकारले दुई महिनादेखि लकडाउन गरेको अवस्था छ । यसका कारण नेपाली कृषि क्षेत्र प्रत्यक्ष प्रभावित हुने सम्भावना बढ्दै गईरहेको छ ।

किसानहरुले उत्पादन गरेको कृषि उपज विक्री वितरणदेखि बजारीकरणसम्म यसले प्रभाव पार्ने निश्चित छ । लकडाउनका शुरुका दिनदेखि नै किसानहरुले बजार नपाएपछि आफ्नो खेतबारीमा उत्पादन गरेको कृषि उपज बारीमा नै नष्ट गर्न थालिसकेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्पादित कृषि उपज बजारीकरणका लागि सहजीकरण गर्न सकेको देखिँदैन । सिंहदरबार भित्र बसेका कृषि विज्ञहरुलाई सायद किसानहरुको पीडाले थोरै पनि दुखेको छैन र त किसानहरु कृषि उपज नष्ट गर्ने काम गरिरहेका छन सरोकारवाला निकायहरु कृषिमा आत्मनिर्भरताका डिङ्ग हाँकिरहेका छन् ।

सरकारले भने जस्तो नेपाललाई कृषि आत्मनिर्भर बनाउने यो सुवर्ण अवसरका रुपमा लिन सकिन्छ । त्यसका लागि सरकारले कृषि र किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ । नेपाल कृषि प्रधान देश भन्ने तर कृषि मन्त्रालयलाई राज्यले हेर्ने दृष्टिकोण र कृषि मन्त्रालयले किसानलाई हेर्ने दृष्टिकोण कहिल्यै पनि सकारात्मक हुन सकेको देखिँदैन । जवसम्म कृषि र किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदैन तवसम्म कृषिलाई आत्मनिर्भर बनाउँछु भन्ने बालुवामा पानी हालेर पानी जोगाउछु भने जस्तै हो ।

अहिले किसानहरुको मुख्य बाली लगाउने बेला भएको छ । तर किसानहरु खेतबारीमा गएर काम गर्न सक्ने अवस्था देखिँदैन । खेतबारीमा रहेका अन्नवालीहरु निकालेर बजार लैजान सकेको अवस्था पनि छैन । खेतबारीमा उत्पादन भईसकेका कृषि उत्पादन खेर गईरहेको छ । प्रत्येक किसानहरुले लाखौं रुपैयाँ नोक्सान व्यहोर्नु परेको तीतो यथार्थ छ ।

यो अवस्थाले गर्दा किसानहरु मरिहत्ते गरेर किन उत्पादन गर्ने भन्ने सोच पलाउन थालिसकेको छ । आफूलाई वर्षभरीलाई पुग्ने खेती गर्ने पो हो कि भन्ने मानसिकताका किसानहरु पुगिसकेका छन् । यदि यस्तै सरकारी रवैया रहने र किसानहरुलाई सँधै दास सम्झने सोच परिवर्तन भएर किसानहरुले उत्पादनका सक्रियता नदेखाउने हो भने मुलुकमा भोकमरीको चपेटा शुरु हुन बेर लाग्ने छैन ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १७, २०७७